‘महामारी नियन्त्रणसँगै अर्थतन्त्र चलायमान बनाई नराखे ठूलो संकट आउन सक्छ’

५ जेष्ठ २०७८, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुधार हुँदै गएको अर्थतन्त्र फेरि थला पर्दै गएको बताएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापी बनेपछि डराएको नेपालले २०७६ को चैतदेखि लकडाउन शुरु गर्‍यो । त्योसँगै नराम्रो प्रभाव पर्न थालेको नेपाली अर्थतन्त्रलाई अहिले नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहरले जटिल अवस्थामा पुर्‍याएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

दोस्रो लहरसँगै सरकारले निषेधाज्ञा गरेको छ । आर्थिक गतिविधि पहिलेको लकडाउनमा जस्तै शून्यप्रायः छन् । पहिलो लकडाउनले संकटमा पुगेको अर्थतन्त्रमा सुधार आइरहेको अवस्थामा अहिलेको निषेधाज्ञाले फेरि कमजोर बनाउनसक्ने भएकाले जसरी हुन्छ चलायमान बनाइ राख्नु पर्ने निष्कर्ष राष्ट्र बैंकको छ ।

यद्यपि यो अध्ययन निषेधाज्ञा शुरु हुनुअघि गरिएको थियो । तथापि संक्रमणको दोस्रो लहरको बलियो संकेत मिलिरहेको थियो । गत वैशाख ५ देखि १४ गतेसम्म गरेको सर्वेक्षण र त्यसले देखाएको नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग–व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको थियो ।

गत असारको तुलनामा उद्योग–व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको प्रतिवेदनमा भनिएको छ । यद्यपि अझै पनि कोभिड–१९ पूर्व अर्थात् २०७६ फागुनको सञ्चालन अवस्थामा उद्योग–व्यवसायहरु पुग्नसकेको देखिएको छैन ।

‘हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुनलागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ’, सर्वेक्षणको नतिजामा उल्लेख गरिएको छ, ‘कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव आर्थिक गतिविधिहरु पनि चलायमान बनाइरहनुपर्ने खाँचो छ ।’

सर्वेक्षण २०७८ वैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सम्पन्न गरिएको हो । गत असारमा पनि राष्ट्र बैंकले सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगी–व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका थिए । अहिलेको सर्वेक्षणमा उद्योगी–व्यवसायीहरुलाई कोभिड-१९ महामारीका कारण लकडाउन शुरु हुनुअगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणमा औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८.१ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १९ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १७.१ प्रतिशत नमूना प्राप्त भएका छन् । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता रहेको छ । अध्ययनले समेटेका सबै औद्योगिक क्षेत्रको नमूना संख्याको प्रतिशत सुरुको सर्वेक्षणसरह करिब समान छ ।

सर्वेक्षणमा उद्योग–व्यवसायको आकारको आधारमा सर्वाधिक (४१.८ प्रतिशत) उत्तरदाता लघु उद्यम–साना खुद्रा व्यापार समूहका छन् भने सबैभन्दा थोरै (३.७ प्रतिशत) उत्तरदाता ठूला उद्योग समूहका रहेका छन् । उद्योग–व्यवसायको आकार अनुसारको नमुना संख्याको प्रतिशत पनि सुरुमा गरिएको सर्वेक्षणमा जस्तै रहेको देखिएको छ।

यस्तो छ सर्वेक्षणको नतिजा
ताजा सर्वेक्षणअनुसार गत २०७७ असारको तुलनामा उद्योग–व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग–व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ वैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शतप्रतिशत उद्योग–व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । हालसम्म पनि ४.२ प्रतिशत उद्योग–व्यवसायहरु सञ्चालनमा आउन नसकेको देखिन्छ । गत २०७७ असारको तुलनामा उद्योग–व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग–व्यवसायको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ । गत २०७७ असारको तुलनामा उद्योग–व्यवसायहरुको उत्पादन–कारोबारको अवस्थामा पनि सुधार आएको छ ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन–कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन–कारोबार बढेको पाइएको छ। तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरुभन्दा सबैभन्दा कम हो । गत २०७७ असारको तुलनामा उद्योग–व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग–व्यवसायको उत्पादन–कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था पुगिसकेका छैनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया