रेमडेसिभिर औषधि नेपालमै उत्पादन हुने, यहि महिनामै बजारमा आउने

काठमाडौं। कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर अब नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि उत्पादनका लागि अनुमति दिएको छ ।

विभागले अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । औषधिको बजार बिक्रीका लागि भने अनुमति नदिइएको उनले जानकारी दिए ।

औषधि उत्पादनको प्रक्रियामै रहेको जनाउँदै उनले प्रक्रिया पुरा भएपछि बजारमा बिक्री गर्न अनुमति दिएको बताए । स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ । जेठ महिनाको अन्तिमसम्ममा औषधि बजारमा आउने बताइएको छ ।

नेसनल हेल्थकेयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया शुरु भइसकेको जानकारी दिए । उनका अनुसार मे महिनाको अन्तिसम्ममा चीनबाट कच्चा पदार्थ आउने र औषधि उत्पादन शुरु हुने भएको छ । कच्चा पदार्थ आएको १५ दिनभित्र औषधि बजारमा लैजाने हिसाबले कम्पनीले काम अगाडि बढाएको उनले जानकारी दिएका छन् ।

 

 
 
  
 

You may also like