कोरोनाबाट चितवनमा थप २० जनाको मृत्यु

चितवन। कोरोना भाइरस संक्रमणबाट चितवनमा थप २० जनाको ज्यान गएको छ । चितवनको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये २० जनाको मृत्यु भएको हो । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार १५ जनाको मृत्यु भएको थियो ।
मृतक २० मध्ये ६ जना चितवनका हुन् । अरु १४ जना उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएका चितवन बाहिरका संक्रमितहरु हुन् ।

भरतपुर अस्पतालमा सात जनाको मृत्यु भएको चितवन स्वास्थ्य कार्यालयले दिएको जानकारी दिएको छ । सो अस्पतालमा चितवनका तीन, नवलपरासीका दुई जना र कपिलवस्तु तथा धनुषाका एक– एक जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पाँच जना र पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पनि पाँचजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोरोना उपचार केन्द्रमा थप तीनजना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये ५१ जना डिस्चार्ज भएर घर गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भरतपुरका विभिन्न ठुला अस्पतालमा ५२१ जना संक्रमितको उपचार भइरहेको छ ।

संक्रमितमध्ये २६० जना आईसीयूमा, ५९ जना भेन्टिलेटरमा र ९६ जना एचडीयूमा छन् । भरतपुरका अस्पतालहरुमा चितवनकाभन्दा चितवन बाहिरका धेरै संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म चितवनमा निको हुन बाँकी संक्रिय संक्रमित चार हजार ३८९ जना छन् । तीमध्ये २१३ जना मात्रै अस्पताल भर्ना भएका छन् । चितवनका संक्रमितमध्ये हालसम्म १८२ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like