हावाहुरीले रुख ढलेर किच्दा महिलाको मृत्यु, केही घरका उडायो छाना

कैलाली। कैलालीमा हावाहुरीका कारण रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । गए राति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखले च्यापिएर टीकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो ।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, पंखामा क्षति भई अन्दाजी रु. ७० हजार बरावरको क्षति भएको छ । चौपाया तथा मानविय क्षति भने नभएको बताइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका– २ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्गले बिद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ । प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ । उनले जिल्लामा के कती क्षति भएको छ भने अझै घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको बताए ।

 

 
 
  
 

You may also like