देउवा–प्रचण्ड भेटवार्ता सकियो, नेपाल–खनाल पक्षको निर्णयपछि आवश्यक कदम चाल्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा नयाँ सरकारको दावी पेश गर्नेबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमाको आज अन्तिम दिन हो ।

दावी पेश गर्ने अन्तिम दिनसम्म पनि बहुमतको टुंगो नलागेपछि नेताहरुले राजनीतिक भेटवार्ता तीब्र बनाएका छन् । देउवा र प्रचण्ड माधव नेपाल समूहको कदम हेरेर अगाडि बढ्ने निर्णयमा पुगेको स्रोतले जानकारी दिएको छ । बिहान मात्र देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । नयाँ सरकार गठनमा सहयोग गर्न देउवाले राखेको प्रस्तावलाई ठाकुरले अस्वीकार गरेको बताइएको छ । देउवासँग भेटेलगतै ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरस्थित एक रिसोर्टमा छलफलका लागि भन्दै लगेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पनि अन्तिम घडीमा छलफल चलिरहेको छ । नेपाल–खनाल समूहले २०७५ जेठ २ मा पार्टीको संरचना व्यूताउनु पर्ने भन्दै ओलीलाई साढे ४ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ । यस समयसम्ममा आफूहरुको माग पूरा नभए सांसदहरुले सामुहिक राजीनामा दिने बताइसकेको छ । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहान स्थायी कमिटीबाट नेता नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा लिएका छन् ।

 

 
 
  
 

You may also like