आफू पक्षका सांसदहरुसँग महन्थ–राजेन्द्रको भक्तपुर रिसोर्टमा छुट्टै छलफल

काठमाडौं। गठबन्धन सरकारका लागि प्रधानमन्त्रीको उम्मेदवारको दाबी पेस गर्ने आज अन्तिम दिन राजनीतिक जोड–घाउ तीब्र बनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महताले आफू पक्षका सांसदहरुसँग छुट्टै छलफल गरिरहेका छन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे जसपाका आफू पक्षीय सांसदसँग छलफल गरिरहेको सांसद शरतसिंह भण्डारीले जानकारी दिए । ‘अहिले महन्थजीले बोलाएको बैठकमा म जाँदैछु,’ सिंहले भने ।

अर्का एक सांसदका अनुसार भक्तपुरको एक रिसोर्टमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मात्र सांसदहरुको छलफल भएको हो । ‘उपेन्द्र–बाबुराम पक्षको सांसदलाई बोलाएको जानकारी छैन, हामीलाई मात्रै बोलाइएको हो,’ ती सांसदले भने, ‘अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्नका लागि होला ।’

उनले कति सांसद छन् भन्ने खुलाउन चाहेनन् । तर, त्यहाँ पुगेका धेरै सांसदको भने मोबाइल अफ गरिएको छ । महन्थ–राजेन्द्र पक्षका १५ सांसदहरुले प्रधाममन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई तटस्थ बसेका थिए । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदमा भएको मतदानमा विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया सोही दिनदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ९ बजे सकिँदैछ ।

नेपाली कांग्रेसले बहुमत सरकारको दाबी गर्ने तयारी गरिरहेका बेला निर्णायक शक्ति रहेको जसपाभित्र दुई धार देखिँदा कुनै निर्णय हुन सकेको छैन । यसैबीच सांसद शरतसिंह भण्डारीले जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन दाबी गर्ने प्रस्तावको विषयमा छलफल गर्न लागिएको बताए । ‘हामी बहुमतको सरकार बनाउनका लागि दाबी गर्नसक्छौं,’ भण्डारीले भने ।

 

 
 
  
 

You may also like