मर्स्याङ्दीमा ट्रक खस्दा दाजुभाइको मृत्यु

२८ बैशाख २०७८, मंगलवार

काठमाडौं । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङको गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिए । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनमा बस्दै आएको उनले बताए ।

उनका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया