चीनबाट आइपुग्यो चार सय अक्सिजन सिलिन्डर

काठमाडौं। चीनको बेइजिङबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा उत्रिएको छ ।

जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले जानकारी दिएका छन् । यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चार सय आज आएको हो । सरकारले करिब २ हजार सिलिन्डर हवाइमार्गबाट र बाँकी स्थलमार्गबाट ल्याउने जनाएको छ । यसबाहेक हिमालय एयरलाइन्सले चीनको कुनमिङबाटै कार्गो ल्याएको छ भने राति पुनः कुनमिङ जाने तालिका रहेको छ ।

करिब ३ बजे नै नेपालको आकाशमा प्रवेश गरेको जहाज ५० मिनेट होल्डपछि अवतरण गरेको हो । सोमबार राति चीनको बेइजिङ गएको वाइडबडी २ः३५ मा त्रिभुवन विमानस्थल अवतरण गर्नुपर्ने भए पनि ढिलाइ भएको हो । त्रिभुवन विमानस्थलको टीडीओ कार्यालयले भने विमानस्थलमा कुनै समस्या नभई जहाजको आफ्नै आवश्यकताअनुसार होल्डमा बसेको जनाएको छ ।

 

 
 
  
 

You may also like