एकतर्फी कारबाहीको श्रृंखलाले पार्टीमा संकट पैदा गरायो : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एकतर्फी रुपमा सांसदहरुमाथि कारबाही अघि बढाएर पार्टीमा संकट पैदा भएको बताएका छन् । संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान नहुने उनले बताएका छन् ।

एमालेले मंगलबार माधव नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ । त्यस लगत्तै विष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिना कारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका श्रृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन ।’

उनले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकता पूर्वको अवस्थामा फर्काएर एकता जोगाउन आग्रह गरेका छन् । ‘अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ ।

एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ,’ विष्टले भनेका छन्, ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’ विष्टलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन ।

 
 
  
 

You may also like