हावाहुरी, मेघगर्जन र असिनासहित देशका धेरै स्थानमा बर्षाको सम्भावना

काठमाडौं । प्रि–मनसुन जगाउँदै अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने मौसमविदले बताएका छन् । आज (शनिबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार पहाडी र तराइका केही भू–भागमा हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसो हावाहुरी चल्ने र असिना पानी पर्नसक्ने महाशाखाको अनुमान छ । अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने जनाइएको छ ।

शुक्रबारदेखि राजधानी उपत्यकालगायत मुलुकका कतिपय भागमा वर्षा आरम्भ भएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा साताको शुरु र अन्त्यताका थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यसैगरी प्रदेश– १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको शुरु र अन्त्यको समयमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना रहेको छ ।

यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का वृद्धि हुनेछ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु र स्थानीय वायु दुवै सक्रिय छन् । प्रीमनसुनको झन्डै दुई महिनासम्म वर्षा हुन नसके पनि अबको केही दिन हुने हल्कादेखिको मध्यम वर्षाले राहत पु¥याउने उनले जानकारी दिए ।

 

 
 
  
 

You may also like