ओली महन्थ ठाकुरसँग गठबन्धन गरेर सत्ता टिकाउने खेलमा : घनश्याम भुसाल

बुटवल। नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण २०७७ साल असफल भएको बताएका छन् । प्रेस चौतारी नेपाल (माधव पक्ष) ले आज (बिहीबार) बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता भुसालले ओलीको कुर्सी मोह र अहंकारका कारण वाम गठवन्धनको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र पार्टी पनि विभाजनतिर धकेलिएको बताए ।

नयाँ वर्ष २०७८ मा ओलीले गरेको गल्तीको क्षतिपूर्ति दिने गरी आफूहरु लागिपरेको भुसालले बताए । पार्टीका नेताहरुलाई लखेट्दै महन्थ ठाकुरहरुसँग गठबन्धन गरेर सरकारमा टिक्ने प्रयास ओलीले गरिरहेको भुसालले बताए । भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तर संघर्ष गर्दै जाने बताएका छन् । चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसँग खुट्टाले टेक्ने ठाउँ मागे जस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने बताए ।

ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तर संघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्रै अन्तर संघर्ष गर्दै जाने बताए । आफूले समानान्तर नभई २०७५ जेठ २ अघिकै एमालेलाई पुनर्गठन गर्दै अघि बढेको बताए । ‘हालसम्म ७० जिल्लामा कमिटी गठन भइसके, बाँकी जिल्ला र पालिकास्तरमा पनि छिटै गठन गर्छौं’, भुसालले भने, ‘चुनावअघि नै एमाले एकता गर्ने आफूहरुको प्रयास हुने र त्यो सम्भव नभए कार्यकर्ताले जे भन्छन् त्यही मान्छौँ ।’

संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहे पनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए । सर्वोच्चको फैसलापछि फागुन २८ गते ओली पक्षले गरेको एकलौटी निर्णयले नै पार्टी विभाजनको रेखा कोरेको भुसालले औंल्याए । अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले बताए ।

 

 
 
  
 

You may also like