ओलीले प्रधानमन्त्री छाड्नु परे कुर्सी नै भाँच्छन् : माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री छाड्नु पर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको बताएका छन् ।
‘०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने गरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो । सहमतिका लागि मलाई मध्यस्थता गर्न बोलाइएको थियो’ आज (आइतबार) समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा उनले भने, ‘मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, शुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।’

यसपटक पनि आफू संकटमा परेपछि ओलीले संसद् नै विघटन गरेको नेपालले बताए । नेपालले ओलीसामू नझुक्ने पनि उनले स्पष्ट पारे । ‘मानिसहरु भन्छन्, एउटा ओलीसामु झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ । तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाति खोलेर लड्छौँ । जितेर छाड्छौँ । कम्युनिस्ट आन्दोलन रक्षा गर्छौं’, उनले भने ।

 
 
  
 

You may also like