देउवालाई भेटे लगतै प्रचण्ड–बाबुरामबीच भेटवार्ता, बन्ला नयाँ सत्ता समीकरण ?

काठमाडौं। सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्रियता बढाएका छन् ।अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । आज (मंगलबार) पूर्व सहयोद्धा डा. बाबुराम भट्टराईसलाई भेट्न प्रचण्डले टोखास्थित उनकै निवासमा पुगेका हुन् ।

‘अध्यक्ष प्रचण्ड र डा. भट्टराईबीच अहिले छलफल भइरहेको छ’, स्रोतले जानकारी दिएको छ । माओवादीले प्रधानमन्त्री केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला प्रचण्ड र भट्टराईबीच छलफल हुनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

डा. भट्टराई पनि तत्काल अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई बिदा गर्नुपर्ने पक्षमा छन् । तर, उनको पार्टी जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री आफूहरुले सारेका ५ माग पूरा गरे ओलीसँग मिलेर जानुपर्ने पक्षमा छन् ।

आजै अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच छलफल भएको बताएका छन् । करिब आधा घण्टा दुई नेताबीच छलफल भए पनि के विषयमा कुरा भयो भन्ने जानकारी नभएको उनले बताएका छन् ।

उनले भने, ‘सामान्य भेटघाट मात्र हो, भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनु स्वभाविक हो ।’ यता आजै जसपाका अध्यक्ष महन्थ ठाकुरले रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना माग पूरा गर्ने प्रक्रिया शुरु गरेको बताएका थिए । वैकल्पिक सरकार बनाउन संसदमा निर्णायक अवस्थामा रहेको जसपाकै अनिर्णयको कारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रयत्न भए पनि माओवादी केन्द्रले समर्थन कायम राखेको र जसपाभित्र विवाद देखिएको भन्दै सो प्रक्रिया समेत रोकिएपछि प्रचण्डले सक्रियता बढाएका छन् । यसअघि प्रचण्ड र भट्टराईबीच निवासमै र उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भएको थियो ।

 

 
 
  
 

You may also like