ताप्लेजुङ। ताप्लेजुङमा एक व्यक्तिले नातामा बुहारी पर्ने महिलाको हत्यापछि आत्महत्या गरेका छन् । पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्यापछि उनका काका ससुरा नातापर्ने स्थानीय ३७ वर्षीय घनश्याम बस्नेतले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार साँझ विमलाको शव घर नजिकैको जंगलमा फेला परेको थियो । उनको शव फेला परेको स्थानभन्दा करिब आठ सय मिटर टाढा आत्महत्या गरेको अवस्थामा घनश्यामको शव फेला परेको प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार घनश्यामले डालेघाँस काटिदिन्छु भन्दै बुधबार दिउँसो विमलालाई जंगल लिएर गएका थिए । ट्रक चालक विमलाका पति झापामा बस्दै आएका छन् । पत्नीको हत्या घनश्यामले गरेको व्यहोरासहितको जाहेरी विमलाका श्रीमान रामकुमार बस्नेतले प्रहरीमा दर्ता गराएका छन् ।
धारिलो हतियारले काटिएको र घाँटी कसिएको अवस्थामा विमालाको शव अलैंची घारीमा फेला परेको प्रहरीले जनाएको छ । घनश्यामको शव घाँटीमा पासो लगाएर रूखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरेलले बताएका छन् । बुहारीको हत्यापछि घनश्यामले किन आत्महत्या गरे खुलिनसकेको प्रहरीले जनाएको छ। विमला सासु, ससुरा र १३ वर्षीय छोरासँग बस्दै आएकी थिइन् ।