काठमाडौं। सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् ।दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद कोलकतास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना शनिबार जेल मुक्त भएका हुन् ।
इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन ।
दुर्गाप्रसादको अवस्थाबारे गत मंसिरमा परिवारले जानकारी पाएको थियो । उक्त जानकारीपछि उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाईका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन थिएका थिए ।
तिम्सिनालाई हत्याको झूटो आरोप लगाएर फसाइएको आफन्तले दाबी गरेका थिए । यो दाबी सही साबित भएको छ । दुर्गाप्रसादका भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई झूटो मुद्दामा फसाएर जेल पठाइएको खुलासा भएको बताए । सन् १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो ।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए ।
इलामको एकतप्पाबाट २०३७ सालतिर कामको खोजीमा उनी दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा त्यो समय गोर्खाल्यान्ड आन्दोलन जारी थियो । पश्चिम बंगाल सरकारले उनलाई हत्या अभियोगमा जेल पठाएको थियो । उनी पक्राउ पर्दा करिब ३६ वर्षका थिए । अहिले उनी ७५ वर्षका भए ।