मकवानपुरमा दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुर। मकवानपुरको बकैयामा भएका दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको र पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइबाको बुधबार खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो ।

वाइबा छारेरोगका बिरामी थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।

त्यसैगरी बकैयामा ना ६ त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । दुर्घटनामा १३ वर्षीय बालक हेटौँडा उपमहानगरपालिका–१७ का दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएका प्रहरीले जनाएको छ ।

हेटौंडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया–५ को तीनतलेमा दुर्घटना भएको हो । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

 
 
  
 

You may also like