बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपमा १३ दिनपछि उनकै एक सहपाठी पक्राउ परेका छ्न् ।
प्रकाउ पर्नेमा १७ वर्षीय एक युवक छन् । उनी भागरथीका छिमेकी समेत रहेको खुलेको छ । आरोपी युवाले शुरुमा भागरथीलाई सानो भीरबाट लडाई दिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
भागरथीको बलात्कार समेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ । यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी अघिल्लो २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्रि क्षेत्रमा मृत फेला परेकी थिइन् ।
उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रकाउ परेका युवक सोही विद्यालयमा ११ कक्षामा अध्ययनरत थिए । उनी भट्ट थरकै भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार उनी भागरथीका आफन्त रहेको खुलेको छ । उनले हत्या स्वीकार समेत गरिसकेको प्रहरी स्रोतले बताएको छ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेट्को दूरीमा भएको बताइएको छ । अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ ।
पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि हत्या भएको खुलिसकेको छ । उनको घाँटी थिचेर हत्या गरिएको रिपोर्टमा उल्लेख छ । प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरेको थियो ।
प्रहरीले पछिल्ला दिनहरुमा भागरथीका साथीलगायतका अन्य शंकास्पदहरुसँग सोधपुछ गर्दै आएको थियो । घटनास्थलमा भागरथीको मोबाइल भेटिनुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने सकारात्मक संकेत मानेको थियो ।
प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको बताएको थियो । प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएर अनुसन्धान अघि बढाएको बताउँदै आएको थियो । विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको थियो । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।
प्रहरीका अनुसार उनले भागरथीलाई धकेलेर लगेका थिए । उनले बयानका क्रममा धेरै दिनदेखि आफूले भागरथीविरुद्ध योजना बनाएको बताएका छ्न । उनीहरुबीचमा केही पारिवारिक विवाद समेत भएको हुनसक्ने सम्भावना देखिएको प्रहरीले जनाएको छ । सुदुरपश्चिम प्रदेश प्रहरीका डीआईजी उत्तमराज सुवेदीले एक जना प्रकाउ परेको पुष्टि गर्दै उनलाई आज सार्वजनिक गरिने जानकारी दिएका छन् ।
निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका थिए । प्रहरी अनुसन्धानमा शंका गर्दै पीडित परिवारले अहिलेसम्म शव समेत बुझेका छैनन् । तर, प्रहरीले भने शंकास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ ।