नेकपाको नाम नलिन ओलीलाई अध्यक्ष नेपालको चेतावनी

by समतल अनलाइन

ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् ।

आज मंगलबार ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओली अब नेकपाको अध्यक्ष नरहेको स्पष्ट पारे । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै अध्यक्ष नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन भए ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष होइनन्’, उनले भने ।

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताए । नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले ओलीलाई आग्रह गरे ।

‘सूर्य पाउने आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ’, उनले भने । केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाए । वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको नेपालले टिप्पणी गरेका छन् ।

जनताको बहुदलीय जनवाद ९जबज० सँग ओलीको साइनो सम्बन्ध नभएको उनले बताएका छन् । जबजका तीन विशेषता सुनाउँदै नेपालले भने, ‘उहाँको मुखबाट जनताको बहुदलीय जनवाद निस्कने कुरा पनि बेकारको कुरा हो ।’ जबज भनेको पार्टीको लोकतान्त्रिकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको र ओलीसँग यी कुनै पनि आँचरण नभएकाले जबजसँग साइने नरहेको नेपालले बताए ।

 
 
  
 

You may also like