अन्तिम समयसम्म कसरत गर्दा पनि किन परराष्ट्रमन्त्री ज्ञवालीलाई मोदीले भेट दिएनन् ?

by समतल अनलाइन

पूर्व राजदूत भन्छन्, ‘नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउन सक्छ भन्ने भारतको बुझाइ’
काठमाडौं। नेपालले भारतीय पक्षलाई महत्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ ।

जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेना प्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले भने त्यसलाई बेवास्ता गरेको छ ।

भारतीय पक्षले नेपाली प्रतिनिधि मण्डलले उठाएका सीमा विवादलगायत विषयलाई पनि संयुक्त छलफलको विषय बनाएको छैन । जबकि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण सीमा विवाद नै हो र पछिल्ला भ्रमण र संवादले भारतीय पक्ष नेपालसँग सीमा विवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो ।

पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई बालुवाटारमा स्वागत गरेपछि यस्तो अवस्था आएको बताउँछन् । ‘प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटले नेपाल एउटा मार्गचित्रमा गइसकेको छ । कूटनीतिमा मर्यादाको अर्थ हुन्छ,’ उनी भन्छन्, ‘नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउँछ भने राजनीतिक र कूटनीतिक हिसाबले किन दुःख गर्ने भन्नेमा भारत गएको देखिन्छ ।’ नागरिक दैनिकबाट

 
 
  
 

You may also like