सैनामैनाको पहिचान र विकासको अवस्था

by समतल अनलाइन

टेकराज पन्थी
नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला अन्तरगत उत्तर पश्चिममा अवस्थित वि.सं. २०७१ साल बैशाख २५ गते गठन भएको नगरपालिका हो । यस नगरपालिकाको मूल नारा “कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार” भन्ने रहेको छ । विश्व शान्तिका अग्रदुत तथा महा मानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ ।

यस नगरपालिकाको पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका-कपिलवस्तु, उत्तरमा शितगंगा नगरपालिका-अर्घाखाँची, रैनादेवी छहरा र तिनाउ गाउँपालिका-पाल्पा, दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका रहेका छन् । साबिकको पर्रोहा र दुधराक्ष गा.बि.स. एक आपसमा समायोजन गरी वि.सं. २०७१ साल बैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पुन:संरचना पश्चात साबिकको सालझन्डी गा.बि.स. समायोजन गरी सैनामैना नगरपालिका बनेको हो । सैनामैना नगरपालिकामा हाल ११ वटा वडा रहेका छन् ।

यो नगरपालिका १६२.१८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या ५५८२२ रहेको छ भने जनघनत्व ३४४.२ प्रति बर्ग कि.मि. छ । नगरपालिका भित्र सबै जातजाती, भाषा भाषी संस्कृति एवं परम्पराको समिश्रण रहेको छ । नगरवासीहरु वीच सुमधुर सम्बन्ध सहितको बसोबास छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना क्षेत्र नेपाल सरकारबाट नेपालको सयौ पर्यटकीय गन्तव्य मध्ये सैनामैनालार्इ २०७५ साल कात्तिक १५ गते पर्यटन गन्तव्यको रुपमा घोषणा भएको छ । यस नगरपालिकामा बसार्इ सरार्इ गरी आउने क्रम बढ्दो रुपमा रहेको छ । हालको अनुमानित जनसंख्या करिव ७१००० रहेको छ ।

यस नगरपालिकाको दक्षिण भागमा वहुसंख्यक आदिवासी थारु जातिहरुको वसोवास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालको जातजातीहरुको वसोवास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाको गहनाको रुपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वंय उत्पत्तिमान शिव ज्योतिलिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौराबाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया, जर्लैया सिमसार क्षेत्र आदि छन् ।

विकासको गति सँगै जनप्रतिनिधिहरूको असल नेतृत्वदायी भूमिका र कर्मचारीहरूको सकारात्मक सोच एवं उत्तरदायित्वका कारण अहिले सैनामैनामा विकासमा नयाँ आयाम थपिदै गएका छन् ।

यसै क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाल सरकारका अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिवको सकारात्मक सहयोग र विकासका लागि आवश्यक बजेटको ब्यवस्थाका सहयोग गर्नु, साथै यसै क्षेत्रबाट संङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली काङ्ग्रेसका नेताको पनि सकारात्मक सहयोग रहनु, प्रदेशमा सभामा यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तापक्षका प्रमुख सचेतकको पनि विकास प्रति सहयोग हुनु, नगरपालिकाको महत्वपूर्ण भूमिकामा रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुखले सिंहदरबारको राम्रो अनुभवी भएकोले देखिने खालका गुणस्तरीय विकास हुनु पर्दछ भनेर निकै खटिने ब्यक्तित्व हुनु, निर्वाचित

जनप्रतिनिधिहरूमा प्रायः सवै वडाका वडाअध्यक्षहरू विकासमा एक ढिक्का हुनु र अन्य जनप्रतिनिधिहरू पनि सैनामैनाको विकासबाट पहिचान बनाउनु पर्दछ भन्ने एउटै धारणा रहनु, यहाँका राजनीतिक दलका ब्यक्तित्वहरू तथा सामाजिक अभियन्ताबाट पनि सकारात्मक सहयोग र विकास हाम्रै लागि हो भन्ने धारणा प्रसस्त पार्इनु र यहाँ सञ्चारकर्मीहरूबाट पनि विकास सम्बन्धि जनचेतना फैलाउने किसिमको समाचार, सूचना, सञ्चार सम्प्रेषण गरी सकारात्मक सहयोग हुनु विकासका लागि महत्वपूर्ण कोशेढुंगा बनेको छ ।

प्रत्यक्ष देख्न सकिने विकासमा सैनामैना चक्रपथ निर्माण तिव्रगतिमा अगाडी बढेको छ। खोरमोर क्षेत्रमा सैनामैना,बुटवल, कन्चन लगायतका संयुक्त फोहोर प्रशोधन केन्द्रको निर्माण भैरहेको छ। उद्धोगहरूको एकिकृत विकास र उद्धोगको ब्यवस्थापनका लागि औद्योगिक ग्रामको तीव्र रूपमा काम अगाडी बढेको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला र राष्ट्रिय खेलकुद रंगशालाको निर्माण कार्य भै रहेको छ ।

विद्धालयहरूको समायोजन भै गुणस्तरीय शिक्षामा जोड दिर्इएको र नमुना विद्धालयको रूपमा समेत छनोटमा परी कार्य अगाडि बढेको छ । क्याम्पसमा भैतिक सुधारका लागि पूर्वाधार निर्माण भै रहेका छन् । लामीरह बहुउद्धेश्य बाधको विस्तृत आयोजना प्रतिवेदनको कार्य भै रहेकोछ । ब्यवस्थित रुपमा हाटबजार सञ्चालन गर्न भवनहरू तयार भै उद्घाटनको चरणमा रहेका छन् ।

विकासका लागि खेल, स्वास्थ्यका लागि खेलका लागि कभर्डहलहरू र वडाहरूमा खेलमैदान निर्माण भएका छन् । ५०० जना जति बस्न मिल्ने जेष्ठनागरिक संरक्षण ग्रामको विस्तृत आयोजना प्रतिवेदन तयार भै बजेट ब्यवस्थापनको प्रकृयामा रहेको छ । १५ शैयाको अस्पताल निर्माणका लागि बजेट निकासा भएको छ । खानेपानी ब्यवस्थापनका लागि खानेपानीका पूर्वाधारहरू सम्पन्न भएका छन् ।

नगर क्षेत्रमा कम्तीमा २० फिटे बाटाहरूमा अत्याधुनिक अस्पाल्ट प्रविधिबाट कालोपत्रे भै रहेका छन् । आधुनिक किसिमको सांस्कृतिक शहर निर्माणका लागि प्रकृया अगाडी बढार्इएकोछ । बन संरक्षणका लागि वृक्षारोपण गरी संरक्षण गर्ने र काठको चोरी निकासी रोक्न एवं वन संरक्षणका लागि तारवार भै रहेको छ । सालझण्डी ढोरपाटन सडक नजिक सालझण्डी सुविधा सहितको बसपार्क निर्माणको क्रममा रहेकोछ । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सैनामैनाको पीपलडाडामा रिफ्रेश सेन्टरको निर्माण तिव्रगतिमा अगाडी बढेकोछ ।

बर्साैदेखि अब्यवस्थित बसोवास गरिरहेका एवं भूमिहीन सुकुम्वासीहरूको लागि जग्गाधनी दर्ताप्रमाण पत्र ( लालपूर्जा ) पाउन नसकेकाहरूका लागि विवरण संकलन गरी जग्गा नापजाँच गर्ने कार्यको थालनी भएको छ ।

कोभिड-१९ बाट पोजिटिभ भएकाहरूका लागि नगरपालिकाको आफ्नै स्रोतबाट आर्इसोलेसन अस्पताल सञ्चालन गरिएको छ जसबाट करिव ३०० जना पोजिटिभ बिरामी निको भएर घर फर्किसकेका छन् । सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सवै वडामा Health Post सञ्चालन गरिएको छ । पर्रोहा परमेश्वरधामको वृहत्तर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार हुदैछ ।

मलमलामा अत्याधुनिक पार्कको DPR तयार भएको छ । Cold store को निर्माण हुदैछ । बाटाहरूको स्तरउन्नति भै रहेका छन् । पर्यटनका लागि पूर्वाधारहरू निर्माण भै रहेका छन् । बुद्धकालीन संग्राहलयको संरक्षण र सुधार गरिदै छ । जर्लैया सिमसार क्षेत्रको विकासका लागि प्रकृया अगाडि बढार्इएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट पहिलो स्वीकृति प्राप्त साझा टिभि एचडि, रेडियो सैनामैना, रेडियो मलमला, रेडियो टार्इम्स, किस एफ र सैनामैना सन्देश पत्रिका नगरका सञ्चारका गहनाका रुपमा रहेका छन् ।

यसै गरी होटल बाबरी, होटल त्रिमूर्ती, होटल रेडचिल्ली, होटल ह्वार्इटहाउस, होटल ग्लोबल, होटल ड्रिमल्याण्ड, होटल गुणाखर, होटल एप्पल लगायतका करिव ५०० जना बासबस्न सक्ने आधुनिक किसिमका थुप्रै होटलहरू पर्यटन पूर्वाधार विकासका लागि कोशेढुंगा बनेका छन् ।

सैनामैनाको बीचभागबाट करिव २७ कि.मि. लोकमार्ग रहेको छ । यसरी आवतजावतमा सवै स्थानमा सजिलै पुग्न सकिने यातायातको सहजता रहेको छ । शिक्षा तर्फ संस्थागत १८ र सामुदायिक १७ गरी ३५ वटा विद्धालयहरू रहेका छन् जसले गर्दा शिक्षाप्राप्त गर्न सजिलो रहेको छ ।

यसरी साबिकको पर्रोहा, दुधराक्ष र सालझण्डी गा.बि.स. समायोजन गरेर सैनामैना नगरपालिका बनेको धेरै भएको छैन विकासको फड्को मारीरहेकोछ जसका कारण आज सैनामैनामा के छैन ? थप विकासका लागि सुझाव पाउन सकिन्छ कि !!

(लेखकः सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

 
 
  
 

You may also like