नयाँदिल्ली । भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन शुरु गर्दैछ । स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन् ।
अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् ।
अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।
खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताए ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।
भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ । अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।
खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ । भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ । एजेन्सी