बेलायतमा काठमाडौंका २१ वर्षीय युवकको हत्या

by समतल अनलाइन

काठमाडौं । बेलायतमा सेफको काम गर्दै आएका काठमाडौंका एक युवाको हत्या भएको छ । बेलायतमा सामान्य विवादका कारण आइतबार राति नेपाली युवाको हत्या भएको हो ।

बेलायतको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी करिब ४० वर्षीय विक्रम केसी भएको एनआरएन यूके सदस्य तथा लण्डनमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी सरस्वती केसीले जानकारी दिएकी छिन् ।

२१ वर्षीय युवकसँगको सामान्य भानाभनका कारण कुटपिट भएपछि घटनास्थलमै केसीको मृत्यु भएको थियो । सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका मृतक केसीको करिब १० बजे राति आफू बस्ने ठाउँभन्दा करिब ३ मिनेटको दूरीमा हत्या भएको हो ।

पाँच मिनेटमा घरआइपुग्छु भनेर श्रीमतीलाई खबर गरेको तर, लामो समयसम्म श्रीमान् घर नआएकोले श्रीमती स्टेशनतिर निस्कँदा उनले प्रहरी र एम्बुलेन्स देखिन् । प्रहरीसँग आफ्ना श्रीमानको बारेमा सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरेका थिए ।’

१० जनवरीको राति १०ः१७ बजे लन्डन एम्बुलेन्सलाई खबर गरेपछि एम्बुलेन्स टोली, इन्सिडेन्ट रेस्पोन्स अफिसर लगायत मेडिकलको समूहलाई घटनास्थल पठाएको लण्डन एम्बुलेन्स सर्भिसका प्रवक्ताले जानकारी दिएका छन् । साथै लन्डन एअर एम्बुलेन्सको ट्रमा टोलीसमेत घटनास्थल पुगेको भएपनि उनको उपचार सम्भव भएन । घटनाको सम्बन्धमा एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको र हाल उनी प्रहरी हिरासतमा छन् ।

मृतक केसी श्रीमतीसँग बस्दै आएका थिए भने उनका भाइ बुहारी पनि घटनास्थल आसपासमै बस्दै आएका छन् । मृतकको शवलाई बुधबार परिवारका सदस्यलाई भेट्न दिइने भएको छ । मृतककी श्रीमती दार्जिलिङ निवासी हुन् । स्व. केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा बेलायत पुगेका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड रेष्टुरेन्टमा लगायतका विभिन्न रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

 
 
  
 

You may also like