नेपालको पछिल्लो राजनीतिक परिस्थिति बुझेर फर्कियो चिनियाँ टोलीे

by समतल अनलाइन

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज (बुधबार) स्वदेश फर्किएको छ ।
संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको राजनीतिक परिस्थिति बुझ्न चिनियाँ टोली नेपाल आएको थियो ।

हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री यैचौको टोली काठमाडौ आएको थियो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले अझै पनि मिल्न सक्ने ठाउँ छ भने मिल्नका लागि नेकपाका नेताहरुलाई आग्रह गरेको थियो । टोलीले शुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको थियो भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो ।

यस्तै टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग छलफल गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिए पनि चिनियाँ टोलीले भने त्यसको खण्डन गरेको छ । नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदानलगायत विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

 

 
 
  
 

You may also like