काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएको कदमविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । सभापति देउवाले आज (शनिबार) एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत रहेको पनि विज्ञप्तीमा देउवाले उल्लेख गरेका छन् । ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’
कांग्रेस सभापति देउवा प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई असंवैधानिक भने पनि प्रतिनिधिसभा पुनस्र्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा दृढ देखिएका छन् । उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनस्र्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ ।
देउवा पुनस्र्थापनाको विरोधमा देखिएपछि शुक्रबारको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका थिए । कांग्रेसका धेरै नेता ओलीको कदमको विरोध गर्नुपर्ने पक्षमा देखिएका छन् ।