यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था नेपालमा

by समतल अनलाइन

आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७३ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६३३ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ५३० थपिए

काठमाडौं उत्यकामा थप ५३० कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २९० पुरुष र २४० महिला छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख नौ हजार ६५६ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४०९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

२१ को मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ । रासस

 
 
  
 

You may also like