३९ बर्ष देखि भारतिय जेलमा थुनिएका छन एक नेपाली

by समतल अनलाइन

भारतको जेलमा ३९ वर्षदेखि एक जना नेपाली थुनिइरहेको तथ्य नेपालको एक उच्च अदालतका पूर्व मुख्य न्यायाधीश र अर्का एक वरिष्ठ अधिवक्ताले उजागर गरेका छन्।

अनौठो त के भने अदालतमा स्वच्छ सुनुवाइबेगर ३९ वर्षदेखि जेलमा थुनिएका उनीमाथि लगाइएको अभियोग नै खुल्नसकेको छैन। उनको नाम दीपक जोशी हो। भारतको कोलकातास्थित कारागार ‘दमदम सेन्ट्रल करेक्स्नल होम’मा बन्दी जीवन बिताइरहेछन् उनी। भारतीय जेलमा उनको बन्दी जीवन शुरु भएको ठ्याक्कै ३९ वर्ष पुग्यो।

हामीले यहाँ उनको चर्चा गर्नुको कारण दीपक नेपाली नागरिक हुन्। उनले दिएका र हामीलाई प्राप्त तथ्य र प्रमाण अनुसार उनको घर इलाम हो। सन् १९८१ मा भारतको दार्जिलिङबाट पक्राउ परेका उनी त्यसयता भारतमै जेल जीवन बिताइरहेछन्।

दीपकलाई कोलकत्ताको ‘दमदम सेन्ट्रल करेक्स्नल होम’मा राखिएको चाहिँ पछिल्लो १५ वर्षयता हो। अनौठो के छ भने दीपक कुन आरोपमा पक्राउ परेका थिए र चार दशकदेखि कुन अभियोग लगाएर जेलमा राखिएको हो भन्ने खुलेको छैन। सबभन्दा गम्भीर कुरा, उनले अहिलेसम्म अदालतमा स्वच्छ सुनुवाईको मौका नै पाएका छैनन्।

 
 
  
 

You may also like