काठमाडौ । पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएकी बालिकाको उपचार क्रममा साँझ मृत्यु भएको हो ।
बालिकामा ब्रेनसँग सम्बन्धित हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथी भएको श्रेष्ठले बताए ।
यस्तै बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।
कात्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । योसँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
बाँके र दाङमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका- १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
यस्तै, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमित पुरूषको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।
ती पुरूष मालपोत कार्यालय घोराहीमा कार्यरत रहेको समेत खुलेको छ । उनमा कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो