रुपन्देहीको सियारीमा लालपूर्जा वितरण

by समतल अनलाइन

नरेश चौधरी
बुटवल। रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) आज वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ का २३ घर परिवारलाई लालपूर्जा वितरण गरेको सो गाउँपालिकाले जनाएको छ ।पहिले नापी गर्दा छुट भएको जग्गालाई गाउँब्लक मानिदै आएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको थियो ।

गाउँब्लकको समस्याका कारण पुस्तौंदेखि खनजोत र भोगचलन गर्दै आएपनि लालपूर्जा पाउन नसकेका स्थानीयलाई लालपूर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो । जनतालाई जग्गाको मालिक वनाउने प्रक्रिया सुरु भएको छ उहाँले भन्नुभयो –‘जनताका चाहना अनुसार विकासका काम भइरहेका छन ।

विभिन्न वडाको गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनुभयो । उक्त गाउँपालिकामा थप करिव ७ सय घरपरिवारलाई गाउँ ब्लकको पुर्जा वितरण गरिने प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनुभयो ।

पुर्जा वितरण कार्यक्रममा नापी अधिकृत अजित कुंवर, गाउँपालिका ना.सु चिरञ्जीवि गौतम, नेपाली कांग्रेस सियारी गाउँ कमिटीका नन्दलाल थारु लगाएतले बोल्नु भएको थियो ।

 
 
  
 

You may also like