आईपीएल : दिल्लीको विजयी सुरुवात, सुपरओभरमा पञ्जाव पराजित

by समतल अनलाइन

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ ।गएराति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए ।

दुवै विकेट कागिसो राबाडाले लिए । तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा गर्‍यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पारी खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए ।

अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

 
 
  
 

You may also like