आजको मौसम : देशका अधिकांश जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । आज (बिहीबार) पनि मौसम बदली भई देशका अधिकांश जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अहिले पनि देशका धेरै जिल्लाका थोरै स्थानमा हल्का तथा मध्यम बर्षा भइरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छिन् । उनका अनुसार कहिं हिजो रातिदेखि नै र कहिं अहिले विहानदेखि बर्षा भइरहेको छ ।

यो वर्षको मनसुन अझै केही दिन लम्बिने संकेत देखिएको मौसमविदहरुले बताएका छन् । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपालि त्यस्तो कुनै लक्षण नदेखिएको मौसमविद् शान्ती कँडेलले बताएकी छिन् ।

मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्छ । तर, अहिले त्यस्तो भएको छैन । अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकाले अझै केही दिन मनसुनको समय लम्बिने भएको मौसमविद् कँडेलले जानकारी दिइन् ।

नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ । तर यस वर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । मनसुन २ दिन मात्रै ढिला गरी भित्रिएको भए पनि बाहिरिन भने अझै १० देखि १५ दिन नै लाग्न सक्ने उनले बताइन् ।

मनसुन सकिनका लागि देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ । तर अहिले देशभर नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज–प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद् कँडेलले जानकारी दिएकी छिन् । देशका अरु ठाउँमा भने दिनभर बादल लागेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

राति प्रदेश–१, २, वाग्मती, गण्डकी, प्रदेश–५ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । भारी बर्षाका कारण पहिरो, बाढी र डुबानको समस्या आउन सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

 
 
  
 

You may also like