गण्डकीमा स्वास्थ्यकर्मी र प्रहरीसहित थपिए १९ संक्रमित, हालसम्म २८ को मृत्यु

by समतल अनलाइन

कास्की। गण्डकी प्रदेशमा आज (सोमबार) विहानै स्वास्थ्यकर्मी र प्रहरीसहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये बागलुङ बडिगाडका दुई जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् भने कास्कीमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पोखरा महानगरपालिका–४ र १७ मा संक्रमित भेटिएका ७ व्यक्ति प्रहरी हुन् । जिल्ला प्रहरी कार्यालय समेत रहेको वडा–४ का ५ प्रहरीमा संक्रमण देखिए पनि ती जिल्लामा कार्यरत प्रहरी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले बताएका छन् ।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरतहरूको विवरण जिल्लाबाट गएकाले जिल्ला प्रहरी कार्यालयअन्तर्गत संक्रमण देखिएको हो ।

यस्तै थपिएका संक्रमितमा पोखरा–२३ मा एक जना, १४ मा तीन महिलासहित ६ जना र वडा–७ र ८ मा एक–एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

पोखरा–८ मा संक्रमण देखिएका एक जनामा २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन्। उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छिन् । अन्य संक्रमित केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गण्डकीमा हालसम्म २ हजार १९१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यता गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारीअनुसार भदौ २६ गते मृत्यु भएका नवलपरासीको मध्यविन्दु–१२ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएका ती पुरुषमा कोरोना रहेको पुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु भएकाको संख्या २८ पुगेको हो । ती व्यक्तिमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या थिए ।
हेर्नुस् विवरण

 
 
  
 

You may also like