काठमाडौं–दिल्ली मनमुटाव : सीमाका जनताबीच जोखिमपूर्ण तनाव

सीमा क्षेत्रका झडपमा परराष्ट्रको चासो : घटनाको प्रकृति हेरेर भारतसँग छलफल गर्ने तयारी
काठमाडौं। नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ ।लकडाउन उल्लंघन गरेर सीमा वारिपारि गर्ने मात्र होइन, सीमास्तम्भ उखेलेर फाल्नेसम्मका घटना भएका छन् । राजनीतिक तथा कूटनीतिकस्तरमा समस्या समाधान गर्न ढिलाइ भए सीमाको जनजीवन थप उत्तेजित हुने स्थिति छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि शनिबार राति झापाको गौरीगन्ज गाउँपालिका–५ फत्तेपुरस्थित सीमा क्षेत्रमा भारतीय नागरिकले गरेको आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् ।

राति साढे ११ बजे सीमास्तम्भ नम्बर १५१ नजिक गस्तीमा रहेको सशस्त्रको टोलीले भारतबाट नेपालतर्फ आइरहेका युवाको समूहलाई रोक्न खोज्दा आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

उनका अनुसार घरेलु हातहतियार बोकेको ४०–५० जनाको समूहले आक्रमण गरेको थियो । ‘घरेलु हतियारसहित आएका भारतीयले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरे । सुरक्षाकर्मीलाई लछारपछार गरे,’ डिएसपी थापाले भने ।

सशस्त्रको ६ जनाको टोली थियो । भारतीयको आक्रमणपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चार राउन्ड हवाईफायर गरेको डिएसपी थापाले बताए । राति नै गौरीगन्जमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेपछि अवस्था सामान्य भएको थियो ।

गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले मदिरा सेवन गर्न नेपालतर्फ आउने युवाले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताए । ‘भारततिर मदिरा बन्द छ । लकडाउनअघि भारतीयहरू नेपालतिर आएर मदिरा खाने गर्थे,’ उनले भने, ‘उनीहरू मदिरा सेवन गर्नकै लागि नेपालतर्फ आएका हुन् । सशस्त्रले रोक्न खोजेपछि आक्रमण गरिएको हो ।’ यो क्षेत्रमा नेपाल र भारत दुवैतिर दशगजा क्षेत्रमा बाक्लो बस्ती छ । कतिपय नेपाली र भारतीय नागरिकले प्रयोग गर्ने खानेपानी ट्युबेल पनि एउटै रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सशस्त्र प्रहरीमाथि भएको आक्रमणका विषयमा आइतबार दुवै देशका सुरक्षा निकायका अधिकारीबीच छलफल भएको छ । भारतीय प्रहरी र एसएसबीका अधिकारीले आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी गौरीगन्जका अध्यक्ष श्रेष्ठले बताए । लकडाउनको समयमा दुवै देशका नागरिकलाई सीमा क्षेत्रमा ओहोरदोहोर नगर्न सचेत गराउने सहमति भएको उनले बताए ।

यसअघि पनि सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा आक्रमण हुने गरेको छ । शनिबार चौथोपटक आक्रमण भएको हो । वैशाख अन्तिम साता झापा गाउँपालिका–४ मा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । एक सय ५० जनाभन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले सीमास्तम्भ नम्बर १३१–१ नजिकै घरेलु हतियारले आक्रमण गरेका थिए । त्यतिवेला पनि सशस्त्र प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।

वैशाख अन्तिम साता नै कचनकवल गाउँपालिका–४ खुट्टामनिमा पनि सीमामा खटिएका सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो । त्यतिवेला भने भारतीय नागरिक भागेका थिए । जेठ पहिलो साता भने कचनकवल गाउँपालिका–१ स्थित सीमास्तम्भ नम्बर १२५–१० नजिकै आक्रमण भएको थियो । खेती गर्न नेपालतर्फ आएका ५०–६० जनाको समूहले हुलहुज्जत गरेपछि सशस्त्र प्रहरीको टोलीले एक राउन्ड हवाईफायर गरेको थियो ।

लकडाउनका कारण नेपालतर्फ आउन नपाएपछि भारतीयहरू वेलावेला आक्रमणमा उत्रिने गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘लकडाउनले उनीहरूको रोजीरोटी खोसिएको छ । विशेषगरी सीमा क्षेत्रमा व्यापार गर्ने आक्रोशित छन् । लकडाउनले समस्या परेकाहरू सुरक्षाकर्मीमाथि खनिन्छन्,’ उनले भने ।

भरतपुर –सीमास्तम्भ उखेलिएपछि पर्साको नेपाल–भारत सीमा क्षेत्र ठोरी शनिबार र आइतबार तनावग्रस्त रह्यो । तनाव साम्य पार्न ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तम्भ नम्बर ३५ (नयाँ सर्भेअनुसार ४३६) शनिबार राति नै गाडिएको छ ।

शनिबार दिउँसो १२ बजेसम्म ठीकै रहेको सीमास्तभ दिउँसो ४ बजेतिर उखेलिएको अवस्थामा भेटिएको थियो । त्यसबाट आक्रोशित बनेका स्थानीय बासिन्दाले सीमा क्षेत्रमा गएर विरोध जनाएका थिए ।

शनिबार बिहान ९ बजे कलशयात्रा र भजनकीर्तनसहित सीता गुफा रामजन्मभूमिमा पूजा गरिएको थियो । त्यसको प्रतिशोधमा भारतीय नागरिकले सीमास्तम्भ उखेलेको स्थानीय बासिन्दाको आरोप छ ।

बिहान ठीकै रहेको सीमास्तम्भ दिउँसो उखेलिएपछि विवाद भएको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताए । नेपाली नागरिक सीमा क्षेत्रमा गएर प्रदर्शन गर्न थालेपछि भारतीय नागरिक पनि आएका थिए । राति भइसकेकाले अप्रिय घटना नहोस् भनेर स्थानीय बासिन्दालाई सम्झाएर फिर्ता ल्याएको अध्यक्ष श्रेष्ठले बताए ।

तनाव बढ्न नदिन सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) को टोलीले शनिबार राति नै उखेलिएकै ठाउँमा सीमास्तम्भ गाडेको अध्यक्ष श्रेष्ठले बताए । ‘स्तम्भ उखेलेको डोब प्रस्टै थियो । राति पानी परेमा मेटिन सक्ने भएकाले दुवैतर्फका सुरक्षाकर्मीको पहलमा राति ९ बजे नै सीमास्तम्भ गाडिएको हो,’ उनले भने । आइतबार पनि स्थानीय बासिन्दाले सीमास्तम्भबारे चासो राखेका थिए, तर पुरानै ठाउँमा गाडिएकाले विवाद बढेन ।

पुरानै स्थानमा सीमास्तम्भ गाडिएपछि विवाद साम्य भएको ठोरी बिओपीका इन्स्पेक्टर दीपक दाहाल बताए । ‘कुनै व्यक्तिले बदमासी गर्‍यो । तैपनि नेपाल र भारतका प्रहरी, प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा सीमास्तम्भ गाडिएको छ । अब यो विषय टुंगियो,’ इन्स्पेक्टर दाहालले भने । यो सीमास्तभबाट करिब आठ सय मिटरको दूरीमा सशस्त्रको बिओपी छ ।

सिराहामा तीन महिनामा दुई पटक झडप

लहान–सिराहामा पनि तीन महिनामा दुईपटक सीमा क्षेत्रमा झडप भएको छ । लकडाउनको समयमा नेपाल आउन खोज्ने भारतीयलाई रोक्न खोज्दा १ वैशाखमा सिराहा नगरपालिका–१९ सोहर्वा र १२ वैशाखमा सिराहा नगरपालिका–१७ माडर नाकामा झडप भएको हो ।

सोहर्वामा दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोकेपछि झडप भएको थियो । करिब २०–२५ जनाको समूहले सीमापारिबाट सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीको ७ नम्बर गणका एसपी प्रवीण कँडेलले बताए । त्यतिखेर भारतीय नागरिकको आक्रमणबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका थिए ।

त्यस्तै, १२ वैशाखमा गहुँ झार्ने थ्रेसर जडान गरिएको ट्र्याक्टर लिएर नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई माडर नाकामा रोक्न खोज्दा झडप भएको थियो । भारतीय नागरिकको आक्रमणबाट माडर बिओपीमा कार्यरत इन्स्पेक्टर घाइते भएका थिए । झडपमा भारतीय नागरिक पनि घाइते भएको एसपी कँडेलले बताए ।

कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा अवरोध

कञ्चनपुर–भारतीय सुरक्षाकर्मीले गत २१ असारमा कञ्चनपुरको सीमा क्षेत्रमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेका थिए । तर, स्थानीयको प्रतिरोधपछि निर्माण कार्य सुरु गरिएको छ ।

बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा हातहतियारसहित आएका भारतीय सुरक्षाकर्मीले सडक दशगजा क्षेत्रमा पर्ने भन्दै अवरोध गरेका थिए । नेपाली भूभागमै राजमार्ग निर्माण भइरहेको भए पनि भारतीय सुरक्षाकर्मीले दशगजा भन्दै विवाद झिकेपछि स्थानीयले प्रतिकार गरेको बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले बताए । ‘भारतीय पक्षले अनावश्यक विवाद झिकेर गए,’ उनले भने, ‘दुई–चार दिन काम रोकिए पनि अहिले निर्माण कार्य जारी छ ।’

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर विवाद गरेको स्थानीय बासिन्दाको भनाइ छ । गत वर्ष पनि ग्राभिलिङ गर्दा भारतीय पक्षले अवरोध गरेको थियो । रिफ्रेन्स पिलर क्षेत्रको पूर्वतिर एक हजार दुई सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न लगाएका थिए ।

सुनसरीमा लगातार दुई दिन झडप
धरान–सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र आपराधिक समूहबीच लगातार दुई दिन झडप भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतीय सीमा नाकाहरूमा कडाइ गरेपछि तस्करी गर्ने समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा गस्तीमा रहेको प्रहरी टोलीमाथि १ साउनको राति ८ः४५ बजेतिर आपराधिक समूहले आक्रमण गरेको थियो । देवानगन्ज–३ पानीट्यांकी नजिक भारतीय नम्बरका मोटरसाइकलमा आएका तीन भारतीय र नेपाली युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका एसएसपी कमल थापाले बताए । दुवैतर्फबाट गोली हानाहान नै भएको थियो ।

आत्म सुरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव घाइते भएका थिए । घटनास्थलबाट एक पेस्तोल, ६ राउन्ड गोली र दुई वटा म्यागजिन र दुई वटा भारतीय नम्बरका मोटरसाइकल बरामद गरिएको एसपी थापाले बताए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

त्यस्तै, २ साउनको राति पनि सीमावर्ती हरिनगर गाउँपालिका–७ घुस्कीमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । राति साढे ९ बजे भारतबाट आउँदै गरेका युवाको समूहलाई गस्तीमा रहेका सशस्त्र प्रहरीले रोक्न खोज्दा आक्रमणमा उत्रिएको सशस्त्र प्रहरी सुनसरीका डिएसपी मित्रलाल श्रेष्ठले बताए ।

प्रतिकारका क्रममा सशस्त्रको गोली लागेर हरिनगर–७ घुस्कीका २० वर्षीय सुवाद अन्सारी घाइते भएका थिए । त्यस्तै युवा समूहको आक्रमणमा सशस्त्र प्रहरी जवान जीवराज बिसंखे पनि घाइते भएका थिए । ‘अवैध सामान ल्याउनेद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण भयो । हतियार बचाउन प्रहरी प्रतिकारमा उत्रिएका हुन्,’ डिएसपी थापाले भने ।

त्यसअघि २३ असोज ०७५ मा पनि सीमा क्षेत्रस्थित कोसी गाउँपालिका–७ मुसहरी टोलमा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको थियो । प्रहरीले गोली चलाउँदा सप्तरीको हनुमाननगरका नसरुल मियाँको मृत्यु भएको थियो । उनीसँगै चोरी गर्ने उद्देश्यले आएका अरू डाँकाहरू भने भागेका थिए । घटनास्थलबाट प्रहरीले दुईवटा कटुवा पेस्तोल र गोली बरामद गरेको थियो ।

सर्लाहीमा भारतीयद्वारा सशस्त्र प्रहरीमाथि सामूहिक आक्रमण
लकडाउनका वेला अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा गत ३० जेठमा सर्लाहीको नारायणपुर नाकामा भारतीय नागरिकले सामूहिक रूपमा सशस्त्र प्रहरीमाथि आक्रमण गरे । ज्यान जोगाउन प्रहरीले चलाएको गोली लागेर एक भारतीयको मृत्यु भयो । झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका थिए ।

पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।

सुरुमा २०–२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोस्यो । लगत्तै थप ७०–८० जनाको समूह आएर ढुंगा, इँटा र लाठाले आक्रमण गर्दै लखेट्न थालेपछि सशस्त्रले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो ।

तर, हवाईफायरबाट थप उत्तेजित भिडले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आक्रमण गर्न नछाडेपछि गोली चलाउनुपरेको थियो । ‘हामीहरूले त बाँच्ने आस मारिसकेका थियौं । गोली नचलाएको भए उनीहरूले हामीलाई कुटीकुटी मार्थे । उनीहरूको भिड देख्दा गोली चलाएर पनि भाग्न नसक्ने अवस्था थियो,’ त्यतिखेर घाइते भएका हवल्दार सञ्जय रायले भनेका थिए ।

सीमा क्षेत्रका झडपमा परराष्ट्रको चासो : घटनाको प्रकृति हेरेर भारतसँग छलफल गर्ने तयारी

नेपाल–भारत सीमा क्षेत्रमा झडपका घटना बढ्न थालेपछि परराष्ट्र मन्त्रालयले चासो देखाएको छ । स्थानीय प्रशासनमार्फत पछिल्ला घटनाका विस्तृत विवरण संकलन गरेपछि घटनाको प्रकृति हेरेर भारतीय विदेश मन्त्रालयसँग छलफल गर्ने परराष्ट्रको तयारी छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्थानीय प्रशासनसँग घटनाको विस्तृत विवरण मागिएको बताए । नेपाल र भारतका स्थानीय प्रशासन तथा सीमा हेर्ने सुरक्षा निकायबीच पनि समन्वय भइरहेको उनको भनाइ छ ।

‘स्थानीय तहमा छिटफुट घटना विगतदेखि नै हुँदै आएका हुन् र स्थानीय तहबाट समाधान पनि हुने गरेका छन् । पछिल्ला घटनाबारे हाम्रो ध्यानाकर्षण भएको छ, स्थानीय प्रशासनबाट विस्तृत विवरण आइसकेपछि घटना हेरेर भारतसँग छलफल गर्छौँ,’ उनले भने ।

सीमा क्षेत्रमा हुने विवादका घटनाबारे जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको सम्बन्धित बोर्डर आउट पोस्टले गृह मन्त्रालयमा विवरण पठाउने प्रचलन छ । गृहले परराष्ट्रमा पठाउँछ र नापी विभागले परराष्ट्रबाट पाउने कार्यप्रणाली छ ।

नापी विभागका निर्देशक एवं प्रवक्ता दामोदर ढकालले सीमा क्षेत्रमा पिलर हटाउनेलगायत झडपका घटनाबारे अहिलेसम्म औपचारिक जानकारी नआएको बताए । ‘हामीले विभिन्न माध्यमबाट सूचना पाएका छौँ । तर, गृह हुँदै परराष्ट्रबाट औपचारिक विवरण प्राप्त गरेपछि मात्रै भारतको सम्बन्धित निकायसँग छलफल गर्ने हो । अहिले विवरणको पर्खाइमा छौँ,’ उनले भने ।

०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) गठन भएको थियो । यसलाई ०६४ सालमा तयार भएको सुस्ता र कालापानीबाहेकको स्टिप म्याप (धर्से नक्सा) का आधारमा भत्किएका सीमास्तम्भ मर्मत गर्ने, हराएका सीमास्तम्भ खोजेर गाड्ने तथा दशगजा र दुवैतर्फको अतिक्रमणबारे प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने कार्यादेश दिइएको थियो । सुरुमा बिडब्लुजीलाई सन् २०१९ सम्म म्याद दिइएको भएपनि पछि २०२२ सम्म पु¥याइएको छ ।

बिडब्लुजीले प्रतिवेदन दिएपछि दुई सरकारबीच अतिक्रमण हटाउने तथा दशगजा खाली गर्ने प्रक्रिया सुरु हुनेछ । प्रतिवेदन नबुझाउन्जेल अतिक्रमण वा दशगजा अतिक्रमणको अवस्थालाई यथास्थितिमा राख्ने सहमति दुवै देशबीच भएको छ ।

सुरक्षाविद् एवं सेनाका पूर्वउपरथी विनोज बस्न्यातले दुवै देशको राजनीतिक मनमुटावको असर स्थानीय सीमा क्षेत्रमा पनि पर्न थालेको विश्लेषण गरे । उनले भने, ‘राजनीतिक तहबाट सुरु भएको मनमुटावको अवस्थाको समाधान राजनीतिक रूपमै खोज्नुपर्छ ।

यसका लागि तत्कालै वार्ता सुरु गर्नुपर्छ । अन्यथा दुई देशको सम्बन्धमा देखिएको तरल परिस्थितिको फाइदा उठाएर अवाञ्छित समूहहरूले खेल्ने अवस्था आउन सक्छ ।’ अहिलेको परिस्थितिमा स्थानीय स्तरको समस्या भनेर केन्द्र मौन बस्न नमिल्ने बस्न्यातको भनाइ छ ।

भारतको मनोहर पारिकर इन्स्टिच्युट फर स्टडिज एन्ड एनालाइसिसका रणनीतिक मामिला विज्ञ डा. निहार नायकले सीमांकन तथा दशगजा खाली गर्ने कार्य तत्कालै सुरु गर्नुपर्ने र बाँकी रहेको सीमांकन कार्य पनि चाँडै सम्पन्न गर्नुपर्ने बताए । ‘बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) को तहमा तत्कालै छलफल हुनुपर्छ ।

यदि यहाँबाट समाधान नभए दुवै देशका परराष्ट्रमन्त्रीहरूले नेतृत्व गर्ने संयुक्त आयोगबाट परिस्थितिको समाधान खोजिनुपर्छ । अहिले बिडब्लुजी प्रभावकारी हुन सकेको छैन,’ दिल्लीमा रहेका नायकले टेलिफोनमा भने ।

नायकका अनुसार पूर्वी सिमानामा नेपालबाट अतिक्रमण भएको भारतीय किसानको दुखेसो छ भने पश्चिम सिमानामा भारतीयबाट अतिक्रमण भएको नेपाली किसानको गुनासो छ । ‘भारततिरबाट केन्द्र सरकार र सीमामा खटिएको एसएसबीकै नीतिअनुसार सीमा अतिक्रमण भएको भन्ने बुझाइ नेपाली सञ्चारमाध्यम र बुद्धिजीवी वृत्तमा छ, यो गलत हो ।

एसएसबीको काम सुरक्षा गर्ने मात्र हो, अरू होइन,’ उनले भने । स्थानीय तहमा पनि समस्या समाधानको प्रयास हुनुपर्ने र त्यहाँबाट नभए बिडब्लुजीलगायतका द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजिनुपर्ने नायकको सुझाब छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like