भारतबाट वर्षमा सवा खर्ब रेमिट्यान्स आउँछ, नेपालबाट पाँच खर्ब जान्छ

काठमाडौं। रोजगारीका लागि नेपाल भारतमा निर्भर छ भन्ने मान्यता भारतमा आम छ । तर, रोजगारी गरेर नेपालीले भारतबाट ल्याउने रकमभन्दा यताबाट उता जाने रकम चार गुणा बढी छ ।विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स गएको थियो । भारतले रेमिट्यान्स पाउने देशहरूको सूचीमा नेपाल आठौँ स्थानमा छ ।

भारतमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर १४ प्रतिशत थियो । यस हिसाबले सन् २०१९ मा नेपालबाट भारतमा तीन अर्ब ९१ करोड ९५ लाख रेमिट्यान्स गएको अर्थशास्त्रीहरूको अनुमान छ । यो हिसाबले सन् २०१९ मा चार खर्ब ७० अर्ब ३५ नेपाली रुपैयाँ भारत गएको देखिन्छ ।

तर, आव ०७५–७६ मा भारतबाट नेपालमा जम्मा एक खर्ब २८ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । भारतीयलाई नेपालमा र नेपालीलाई भारतमा काम गर्न आउन–जान प्रवेशाज्ञा लिनुपर्दैन । त्यसो हुँदा यी दुवै देशमा एक–अर्का मुलुकका कति नागरिक छन् भन्ने तथ्यांक छैन ।

तर, ०६८ को जनगणनाअनुसार १९ लाख २० नेपाली देशबाहिर छन्, त्यसमध्ये ३७ दशमलव २ प्रतिशत भारतमा थिए । त्यो भनेको सात लाख १४ हजार हो । पछिल्लो समय कामका लागि भारत जाने क्रम घटेको तथा तेस्रो मुलुक जाने क्रम बढेका कारण पनि भारतमा नेपालीको संख्या त्यसभन्दा बढी नभएको अनुमान छ । भारतीय सेनामा मात्रै ३२ हजार नेपाली भएको त्यहाँको विदेश मन्त्रालयको तथ्यांक छ ।

नेपालमा भारतीय कति छन्, भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । तर, भारत गएको रेमिट्यान्सको आधारमा भारतमा नेपालीभन्दा नेपालमा भारतीय चार गुणा धेरै छन् । भारतमा सात लाख १४ हजार नेपाली रहेको तथ्यका आधारमा नेपालमा २६ लाखभन्दा धेरै भारतीय भएको बुझिन्छ ।

व्यापारबाट पनि भारत नेपालसँग अतुलनीय फाइदामा छ । भारतको सबैभन्दा ठूला १० व्यापारिक साझेदारमध्ये नेपाल एक हो । गत आर्थिक वर्ष ०७५–७६ मा भारतले नेपाललाई नौ खर्ब १८ अर्बको सामान बेचेको थियो । तर, उसले नेपालबाट जम्मा ६३ अर्बको मात्रै सामान किनेको थियो । नेपालले किन्ने सामानबाट पनि भारतमा रोजगारी तथा समग्र अर्थतन्त्रमा ठूलो फाइदा पुगेको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like