भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता , २ शव फेला

काठमाडौं।गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु-याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

त्यस्तै, बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेले अनुखाँडिचौरभन्दा माथिको पुल बगाएको कारण लामो बाटो आफूहरु घटना भएको स्थानमा पुग्न लागेको बताए । उनका अनुसार २ जनाको शव भेटिएको र सात आठ जना हराइरहेको प्रारम्भिक जानकारी आएको छ । त्यस्तै, १५ देखि १६ घर बगाएको भन्ने जानकारी छ । यद्यपि, घटना भएको स्थानमा पुगेपछि मात्र सबै कुराको यकिन जानकारी आउने उनले बताए ।

 
 
  
 

You may also like