देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर मनसुन सक्रिय बनिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय क्षेत्र रहेको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको आज (आइतबार) विहान जानकारी दिएको छ ।

महाशाखाले आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र प्रदेश–५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरेको छ ।

यसैगरी, महाशाखाले आइतबार राति देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यस्तै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो वर्ष पोहोरको भन्दा झण्डै दोब्बर बर्षा

यो वर्ष मनसुन शुरु भएपछि पोहोरकोभन्दा झण्डै दोब्बर बढी पानी परेको छ । मनसुन शुरु भएपछि अहिलेसम्म २६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

गएको वर्ष यही अवधिमा जम्मा १३ दशमलव ३ मिलिमिटर मात्रै पानी परेको थियो । मनसुन अवधिभर नेपालमा सरदर १५ सय ३ दशमलव ५ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् । यस्तै देशका अरु मुख्य स्टेशनमा मापन गरिएको सरदर वर्षा पनि औषतमा राम्रो भएको उनले बताइन् ।

मनसुन अवधिभर काठमाडौं उपत्यकामा ११ सय ३० दशमलव ३ मिलिमिटर सरदर पानी पर्ने गरेकोमा यो वर्ष ३ सय १९ दशमलव ६ मिलिमिटर अर्थात २८ दशमलव ७७ प्रतिशत पानी परिसकेको छ । यस्तै सरदरमा ३१ सय ८९ दशमलव १ मिलिमिटर पानी पर्ने गरेको पोखरामा यो वर्ष ७ सय ७७ दशमलव ९ मिलिमिटर अर्थात् २४ दशमलव ३९ प्रतिशत पानी परिसकेको छ ।

सरदर १५ सय ५७ दशमलव ६ मिलिमिटर पानी पर्ने विराटनगरमा यो वर्ष ७ सय ३७ दशमलव १ मिलिमिटर अर्थात् ४७ दशमलव ३२ प्रतिशत पानी परिसकेको छ । सरदरमा १३ सय ३५ दशमलव २ मिलिमिटर पानी पर्ने नेपालगञ्जमा यो वर्ष २ सय ३४ दशमलव १ मिलिमिटर अर्थात् १७ दशमलव ५३ प्रतिशत पानी परिसकेको कँडेलले बताइन् ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन प्रवेश गर्छ । तर यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि मनसुन नेपाल प्रवेश गरेको थियो । गएको वर्ष नेपालमा १० दिन ढिलो अर्थात् जुन २० अर्थात् असार ५ मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । कहिलेकाहीं मनसुन सक्रिय हुन समय लाग्छ भने कुनै वर्ष छिट्टै सक्रिय हुने गर्छ । सामान्यतया मनसुन नेपाल प्रवेश गरेको ७ दिनभित्र देशभर फैलने गरेको छ ।

 
 
  
 

You may also like