पोखरा । गरिमा विकास बैंक लिमिटेडले हायर पर्चेज कर्जा लिएका ऋणिहरूलाई एक महिनाको ब्याज मिनाहा गरेको छ । नेपाल राष्ट्रबैंकको निर्देशन बमोजिम बैंकले असार महिनाको व्याज मिनाहा गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विज्ञप्ति प्रकाशित गरी यस विषयमा जानकारी गराएका हुन् ।
उनले बैशाख, जेठ र असार महिनाको व्याजमा २ प्रतिशत छुटबाहेक असार महिनाको व्याज पूरै मिनाहा गरिने जानकारी दिए । यो सुविधा कालो नम्बर प्लेटको सार्वजनिक सवारी साधन र पर्यटकीय सवारी साधनमा लागू हुने बैंकले जनाएको छ ।
बैंकले आफ्ना विभिन्न शाखामा सम्पर्क गरी ब्याज छुट सेवा लिएर किस्ता रकम तिर्न आग्रह गरेको छ । बैंकको यो कदमले यातायात व्यवसायीलाई राम्रो राहत पुग्ने विश्वास लिएको छ ।
यातायात व्यवसायीले भने किस्ता तिर्ने समयसीमा बढाउन माग गर्दै आएका छन् । यसमा बैंक तथा वित्तीय संस्थाले ध्यान नदिए सवारी साधनको तालाचावी बुझाउने व्यवसायीले चेतावनी दिएका छन् ।