ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय

काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रणनीति तय गरेको छ ।बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि ललितपुरको एक होटेलमा बसेको दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको हो ।

‘विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष हो,’ भेलामा सहभागी एक नेताले भने, ‘मान्नु भएन भने विधानअनुसार नै अगाडि बढ्छौँं।’ पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।भेलामा पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएका थिए ।बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा सहमति जनाएका छन् । भेलामा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।

सचिवालयका पाँचसहित मंगलबार र बुधबार बोल्ने स्थायी कमिटीका अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले पनि बिहान आफू निकट केही नेताहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र केही नेताहरु लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ ।

बुधबार केहीबेर बसेर स्थगित भएको स्थायी कमिटी बैठक बिहीबार बस्ने छ ।

 
 
  
 

You may also like