प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफैले दिएको अभिव्यक्तिका कारण अप्ठ्यारोमा पर्दै गएका छन् ।

आज (मंगलबार) को नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।

केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् ।

उनले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभूति गर्न नपाएको र पार्टीमा पनि ’ओली दम्भ’ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गरेका छन् ।

‘प्रचण्डजी ले त सिधै प्रधानमन्त्रीको राजीनामा नै माग्नु भयो, झलनाथ र वामदेव कमरडेले दिल्लीको विषयमा प्रधानमन्त्रीले बोलेको कुराको सत्य तथ्य माग गर्नुभएको छ, उहाँहरुले पनि ओलीले ठिक तरिकाले पार्टी र सरकार नचलाएकाले छाड्दिँदा नै ठिक हुने कुरा राख्नु भएको छ’, एक स्थायी कमिटी सदस्यले भने ।

 
 
  
 

You may also like