सर्लाहीको धनकौलमा गोली चल्दा १२ जना घाइते

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका – ३ मा गोली चल्दा १२ जना घाइते भएका छन् ।नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको निहुँमा राति साढे ८ बजेतिर भएको झडपमा गोली चल्दा छर्रा लागेर १२ जना घाइते भएको प्रदेश नम्बर २ का डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

बाह्र बोरको बन्दुकको छर्रा लागेर घाइते भएका उनीहरू सबैको अवस्था सामान्य रहेको सिंहले जानकारी दिए ।

सामान्य विवादले उग्ररूप लिएपछि भेला भएका दुबै पार्टीका करिव एक/एक सय जनाको भीडलाई तितरवितर पार्न प्रहरीले पनि ५ राउण्ड हवाइ फायर गरेको उनले जानकारी दिए ।

‘सामान्य विषयबाट सुरू भएको विवादले उग्ररूप लिएपछि प्रहरीले केही राउण्ड टियर ग्याँससहित ५ राउण्ड हवाइ फायर गरेको हो, त्यही भीडबाट पनि गोली चलेर त्यसको छर्राले १२ जना घाइते भएका छन्,’ सिंहले खबरहबसँग भने,’ गोली चलाएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएका छौँ ।’

सिंहकाअनुसार गोली चलाएको आशंकामा स्थानीय मुकेश शाहलाई पक्राउ गरिएको छ ।

जिल्लाको धनकौल गाउँपालिकासँगै सीमा जोडिएको रामनगर गाउँपालिका ४ का नेकपा कार्यकर्ता रामजनम रायको गत असार ७ गते हत्या भएपछि सोही विषयलाई लिएर दुई पार्टीबीच तिक्तता बढेको र सामान्य विषयमा पनि विवाद बढ्दै जान थालेको डीआइजी सिंहले जानकारी दिए ।

७ गते हत्या भएका रायको विवाद भएपछि अहिलेसम्म अन्तिम संस्कार हुन नसकेको उनले बताए ।

 
 
  
 

You may also like