काठमाडौं। मनसुन सक्रिय हुन थालेसँगै देशभर बाढी, पहिरो र डुबानको समस्या देखिन थालेका छन् ।केहि दिनदेखि लगातार रुपमा परिरहेको पानी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । आज (मंगलबार) पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेष गरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
यस्तै राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।महाशाखाले आज मंगलबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको छ ।
तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली कञ्चनपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुर र आसपास मध्ययम देखि भारी बर्षा भईरहेको जनाइएको छ । कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बहाव बढ्ने, केहिमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यहि जुन १२ मा नेपाल प्रवेश गरेको मनसुन जुन २१ देखि देशव्यापी रूपमा सक्रिय भएको हो । अझै तीन दिन वर्षा रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गरेको छ । केहि दिनदेखि जारी वर्षाले गुल्मी, पाल्पालगायतका क्षेत्रमा बाढी पहिरोको समस्या निम्त्याएको छ । पाल्पामा पहिरोले गाडी पुर्दा तीन जनाको ज्यान गएको छ ।