तिमी तिमी नै थियौ
र म पनि म नै थिएँ,
तर समयको मधुर संयोग,
तिमी र म त हामी भइसकेछौं ।
जब हेर्न खोजें यो चराचर जगत्
तिम्रा आंखा भरी मेरो खुसीको ब्रह्माण्ड पाएँ,
जब नियाल्न खोजें ताराहरुले भरिएको आकाश
तिम्रो अनुहारमा स्नेहको जून देखें
केलाएँ अक्षरहरु जिन्दगीका पानाहरु फर्काएर
तिम्रो मनको उदारतामा मैले आफ्नै व्यापकता देखेँ
हरेक पल प्रवाहित मनका अविरल भावहरूमा
तिम्रो मुस्कानका रंगहरूले सजाइएको सुन्दर बगैचा देखेँ
सुकोमल चेतनाले चुमेका भञ्ज्याङ अनि चौतारीहरुमा
तिम्रा हातहरुको वासन्ती स्पर्शको अनुभूति गरें
आफू पोखिएका सिर्जनाका हरेक मझेरीमा
तिम्रो पसिनाको अनमोल सुगन्ध भेटें
जे देख्छु, जहाँँ हेर्छु
तिमी हुँदा मात्र म झरना झैं पवित्र बगिदिन्छु
अनि
म रहँदा मात्र तिमी दीप्तिले उजेलिन्छौ
र त
तिमी र म हामी हुँदा मात्र जीवन खुसीले
लालीगुराँस भइदिन्छ
मेरो छायामा तिमी आलोक बनेर मुस्कुराउँछौ
मेरै ओठबाट तिमी
प्रेमको गीत बनेर गंगुनाउँछौ
अनि म त्यही गीतको संगीत बनेर लय हुन्छु
जन्म जन्मान्तर सम्म
तिमी र म हामी बनेर अद्वैत हुनेछौं !!
- आफ्नो अठारौं विवाहोत्सवको दिन साहित्यकार मन्जु खरेलले लेख्नुभएको कविता !