नयाँ बजेट कोरोनाको असर न्यूनीकरण र उच्च आर्थिक वृद्धिमा केन्द्रित हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू आर्थिक वर्ष २०७७–०७८ को बजेटलाई कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गराउनेतर्फ केन्द्रित रहेको जानकारी गराएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले नयाँ बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिमा केन्द्रित हुने जानकारी गराएका छन् । संसदमा अर्थमन्त्री खतिवडाले आज आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने प्राथमिकता तथा सिद्धान्तहरु प्रस्तुत गरेका हुन् ।

कोभिड १९का कारण अर्थतन्त्र ध्ववस्त भएको बताउँदै उनले आगामी आर्थिक वर्ष भने उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने बताए। भूकम्पको समयपछि पनि नेपाल छिट्टै माथि उकासिएको र कोरोनापछि पनि सोही रुपमा अघि बढ्ने मन्त्री खतिवडाले बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७–०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै यस्तो कुरा जानकारी गराएका हुन् ।

सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रुपमा रहेको सार्वजनिक, निजी, सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने उनले जानकारी दिए ।

भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारीरुपमा परिचालन गर्ने लक्ष्य राखिएको उनले स्पष्ट पारेका छन् ।

उनले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आव २०७७–०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि यही वैशाख २९ र ३० गते छलफल गर्ने कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २९ गते सोमबार बिहान ११ः०० बजे बस्ने छ ।

 
 
  
 

You may also like