बुटवल । कोरोना संक्रमणपछि सरकारले घोषणा गरेको लकडाउनका कारण यतीबेला रुपन्देहीका सयौं विपन्न परिवार बिहान के खाउँ साँझ के खाउँको अवस्थामा पुगेका छन् ।
यस्ता विपन्नहरुलाई लक्षीत गर्दै यहाँका स्थानिय सरकारहरुले राहत स्वरुप खाद्यान्न वितरण गरिरहेका छन् । यसैबिच जिल्ला कै कन्चन गाउँपालिकाले त्यहाँका विपन्न परिवारहरुलाई राहत बाँडेको छ । दैनिक ज्यालादारी मजदूरहरु लकडाउनका कारण काममा जान नपाएपछि साँझ विहान चुलो बाल्न गाउँपालिकाले विभिन्न चरणमा राहत वितरण गरेको हो ।
गाउँपालिकाले सबै वडामा पहिलो चरणमा ९८० घर र दोस्रो चरणमा ९५० घर राहत वितरण गरेको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जनाकारी दिनुभयो । विपन्न परिवारलाई चामल , दाल, नुन, तेल, साबुन र मास्कलगायतका सामग्री वितरण गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
गाउँपालिकाले वडा नं ५ मा रहेको लुम्बिनी ज्ञान निकेतनमा २५ बेडको क्वारेन्टाइन निर्माण गरेको पनि उहाले जानकारी दिनुभयो । त्यसै गरि लकडाउनको समयमा स्थानीयस्तरमा युवाहरु परिचालन गरि लकडाउनलाई प्रभाकारी बनाइएको अध्यक्षले जानकारी दिनुभयो । पैदलयात्रीको लागि खाना र गाडीको व्यस्थापन गरि गन्तव्यमा जान पनि व्यवस्था मिलाएको अध्यक्षले बताउनु भयो ।
प्रदेश सरकारले स्थानीय तहलाई १० लाख छुट्याएको र उक्त बजेट आएपछि ज्यालादारी श्रमिक तथा मजदूरहरुको हितमा प्रयोग गरिने अध्यक्षले बताउनुभयो ।