लुम्बिनी अस्पतालले कोरोना संकटमा अस्पतालमा उपस्थित नभएपछि ५ जना चिकित्सक वर्खास्त

बुटवल। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक वर्खास्त भएका छन् । कोरोना महामारीको संकटमा पनि जानकारी नै नगराई चिकित्सकहरु अस्पताल नआएको भन्दै अस्पताल प्रशासनले वर्खास्त गरेको हो ।

अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले संकटको समयमा पनि एक हप्तादेखि अस्पतालमा उपस्थित नभएपछि करारमा नियुक्ति गरिएको ती चिकित्सकहरुलाई पदबाट हटाईएको जानकारी दिए ।

अस्पतालले रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, नाक काम घाँटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मीक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाएको हो ।

सरकारले सुत्केरी विदा, काजक्रिया विदा र बिरामी विदा बाहेकका कुनैपनि विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई कारवाही गर्न देशभरीका अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो । अस्पतालले उक्त निर्देशन बमोजिम जानकारी नै नगराई अस्पतालमा उपस्थित नभएका ती चिकित्सकलाई कारवाही गरेको हो ।

 
 
  
 

You may also like