फ्रान्सबाट आएकी युवती जसको सावधानीले फैलिन पाएन संक्रमण

काठमाडौ। फ्रान्सबाट आएकी युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन् ।

यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् । यति मात्र होइन, परिवारसँग समेत उनले दूरी कायम गरेकोले संक्रमण पैmलिन पाएन । परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट आएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डले भने, ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसैगरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडीचालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए ।

उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन् । उनमा संक्रमणको लक्षण देखिएको थिएन, तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालय समेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलई बताएकी छिन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि उनी स्वदेश आएको चार दिनपछि आफैँ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

हाल टेकु अस्पतालमै उपचाररत युवतीको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन ।

‘उनका परिवारका व्यक्ति तथा चालक सबैको परीक्षण भइसकेको छ, कसैलाई संक्रमण देखिएको छैन,’ महाशाखाका प्रमुख डा. पाण्डेले भने । विमानमा उनको सिटअ ासपास बसेका १७ जनाको पनि परीक्षण भएको छ, रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीमा संक्रमण पुष्टि भएपछि उनी र विदेशबाट आएका अन्यबाट काठमाडौंमा धेरैमा फैलिएको हुन सक्ने त्रासमा सरकार थियो । त्यसैले पनि ११ चैतदेखि सरकारले लकडाउन गरेको थियो ।

तर, युवतीले अपनाएको सावधानीका कारण काठमाडौंमा जोखिम केही हदसम्म कम भएको अनुमान गरेको छ । ‘उनले लापरबाही गरेको भए केही दिनमै काठमाडौंमा धेरैलाई संक्रमण फैलने जोखिम थियो,’ महाशाखाका एक अधिकारीले भने ।

ती युवतीसँगै विमानमा आएका बाग्लुङका दुई जनामा पनि संक्रमण पुष्टि भइसकेको छ । तर, विमानमा उनीहरू सँगै भने थिएनन् । बाग्लुङकी १९ वर्षीया युवती सिट नम्बर बी तथा ६५ वर्षीया महिला सिट नम्बर ईमा सँगै बसेका थिए । काठमाडौंकी युवती भने पछिल्लो सिटमा बसेकी थिइन् । बाग्लुङका दुई महिला बसेको सिटआसपासका १८ जनाको पनि परीक्षण भइसकेको छ ।

बाग्लुङका दुवै संक्रमित ४ चैतमा यती एयरलाइन्सबाट पोखरा गएका थिए । उनीहरूसँगै पोखरा गएकाहरूको समेत परीक्षण भइसकेको छ । त्यस्तै, विमानस्थलबाट बसपार्कसम्म ट्याक्सीमा तथा त्यहाँबाट बाग्लुङ स्कार्पियोमा सँगै गएका थिए ।

दुवैका परिवारको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर, उनीहरूले गाउँका अन्य व्यक्तिलाई पनि भेटेको भएकाले बाग्लुङमा फैलिएको आशंकामा र्‍यापिड टेस्ट सुरु गर्न लागिएको छ ।

तीनजना संक्रमित आएको कतार एयरको जोखिम लगभग सकिएको बताइएको छ । सो विमानमा एक सय ५८ यात्रु सवार थिए । जसमध्ये १० जना सम्पर्कमा आएका छैनन् । संक्रमित आसपास बसेकाहरूको रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको हो ।

तेस्रो केसको जोखिम कायमै
नेपालमा देखिएको तेस्रो केस धादिङका युवकको हो । उनले भेटेका व्यक्तिहरूको पनि नेगेटिभ रिपोर्ट आएको छ । तर, उनले सार्वजनिक यातायात प्रयोग गरेकाले कन्टाक्ट ट्रेसिङ सकिएको छैन ।

उनले प्रयोग गरेको ट्याक्सी र बस नै अहिलेसम्म पत्ता लागेको छैन । उनी ६ चैतमा एयर अरेबियाबाट आएका थिए । विमानमा उनी बसेको सिटआसपासका यात्रु पत्ता लगाएर परीक्षणको काम भइरहेको छ ।

ती युवकले अरूलाई सारेको हुन सक्ने र जोखिम कायमै रहेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन् । लक्षण नदेखिए पनि संक्रमण हुन सक्ने भएकाले क्वारेन्टाइनमा दुई सातामा बसेर पनि थप एक साता घरमा अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

कैलाली र कञ्चनपुरमा सुस्त ट्रेसिङ

धनगढीका संक्रमित युवकको केसमा पनि कन्टाक्ट ट्रेसिङ भइरहेको महाशाखाले जनाएको छ । उनी ७ चैतमा भिस्तारा एयरबाट नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए । वसुन्धारामा मामाघरमा बसेकोमा भोलिपल्ट बुद्ध एयरमार्फत नेपालगन्ज गएका थिए ।

त्यहाँबाट अटो र माइक्रो प्रयोग गरी अत्तरिया पुगेका थिए । उनको मामाको परिवारमा संक्रमण देखिएको छैन । उनले प्रयोग गरेका ट्याक्सी, अटो र माइक्रोको भने अहिलेसम्म पहिचान हुन सकेको छैन । उनको परिवारका एक सदस्यमा समेत संक्रमण भएको पुष्टि शनिबार भएको छ । जुन नेपालमा देखिएको पहिलो आन्तरिक संक्रमण हो । उनले छिमेकी समेत भेटकाले संक्रमण फैलाएको आशंका गरिएको छ । तर, ट्रेसिङ चुस्त हुन सकेको छैन ।

भारतबाट आएका १९ वर्षीय संक्रमित युवकले पनि धेरैलाई फैलाएको आशंकामा कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्ट सुरु भएको छ । उनीहरू भारतबाट भिडभाड छिचोल्दै आएका थिए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like