भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ ।

सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा. कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६ वटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एउटा र प्रयोगशालामा नै सङ्कलन गरिएका चार वटा नमूनाको परीक्षण गरिएको हो ।

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउने गर्दछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पुर्‍याएर परीक्षण थालिने छ ।

पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइने छ भने अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ । आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका छन् ।

 

 
 
  
 

You may also like