कोरोनाबाट ७४ हजार ६२९ को मृत्यु, साढे १३ लाख संक्रमित

भारतमा हिजो एकै दिन १८ को मृत्यु, ज्यान गुमाउने १३६ पुगे
काठमाडौं। प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ६२९ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ४२८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच हजार २२१ जनाको ज्यान गएको छ ।

सोमबार कोरोनाका ७२ हजार ८५० जना नयाँ संक्रमित थपिएका छन् । सोमबार अमेरिकामा कोरोनाबाट एक हजार २५५ जनाको ज्यान गएको छ । त्यहाँ हिजो एकै दिन ३० हजार ३३१ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेको छ भने मृतकको संख्या १० हजार ८७१ पुगेको छ ।

अमेरिकापछि सोमबार फ्रान्समा धेरैको कोरोनाबाट मृत्यु भएको छ । फ्रान्समा सोमबार एकै दिन ८३३ जनाको ज्यान गएको छ । त्यहाँ मृतकको संख्या ८ हजार ९११ पुगेको छ भने संक्रमितको संख्या एक लाख हाराहारी पुगेको छ ।

स्पेनमा हिजो एकै दिन ७ सयले ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या १२ हजार नाघेको छ भने संक्रमितको संख्या एक लाख ३७ हजार पुग्न लागेको छ । सोमबार इटालीमा कोरोना संक्रमणबाट ६ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट साढे १६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या एक लाख ३२ हजार नाघेको छ ।

युकेमा सोमबार ४३९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या पाँच हजार ३७३ र संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ ।

जर्मनीमा सोमबार कोरोना संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या एक हजार ८१० र संक्रमितको संख्या एक लाख ३ हजार नाघेको छ ।

त्यसैगरी सोमबार इरानमा १३६, बेल्जियममा १८५, नेदरल्याण्डमा १०१, ब्राजिलमा ७८, स्वीडेनमा ७६, रोमानियामा २५, स्वीटजरल्याण्डमा ५०, टर्कीमा ७५, क्यानाडामा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६ पुगेको छ । हिजो एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ । आइतबार पनि भारतमा यसको संक्रमणबाट १८ जनाकै मृत्यु भएको थियो । त्याँ संक्रमितको संख्या चार हजार ७७८ पुगेको छ ।

अर्को छिमेकी देश चीनमा सोमबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । चीनमा सोमबार ४४४ जना नयाँ संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like