लकडाउन अझै एक साता लम्ब्याउने सरकारको तयारी, आज मन्त्रिपरिषद बैठक

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी लकडाउन अवधि अझै एक साता लम्ब्याउने र अन्य नियमित विषयमा निर्णय हुने स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको जनाइएको छ ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।
तर, सुदूरपश्चिम प्रदेशमा एक साथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको जनाइएको छ ।

नेपालमा देखिएको कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् । यो बेला थप कडाइ गर्न नसकिए कोरोना संक्रमण नियन्त्रण बाहिर जाने सुझाव उनीहरुले दिंदै आएका छन् । सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधिसम्म लकडाउन कायम राख्ने सरकारले तयारी गरेको हो ।

 
 
  
 

You may also like