कर्णाली प्रदेश कोरोना जोखिम पूर्वतयारी : भारतबाट फर्किने पनि क्वारेन्टाइनमा बस्नुपर्ने

सुर्खेत।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले ५० करोड बजेट छुट्याउने भएको छ।

त्यस्तै कोरोना प्रभावित मुलुकबाट आउनेलाई राख्न १ हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले विपद् व्यवस्थापन कोष स्थापना गर्दै ५० करोड बजेट छुट्याउने र १ हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

प्रदेश सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ। भारत लगायत अन्य मुलुकबाट कर्णाली फर्केकाहरू अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ।

सरकारले रोजगारीका लागि भारत गएका युवाहरुलाई भने आगामी दश दिनभित्र कर्णालीभित्र प्रवेश गरिसक्न समितिले अनुरोध गरेको छ।

बैठकले सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समिति पनि गठन गरेको छ।

 
 
  
 

You may also like