विवादको केन्द्रमा हस्तक्षेप गर्दै वामदेव

by समतल अनलाइन

काठमाडौं। नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ । तर, प्रदेश २ मा भने अन्यत्र भन्दा अझ बढी विवाद छ ।

प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका नाममा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्ने गरी आपराधिक गतिविधि’ भएका छन् । जिल्लाका पदाधिकारी चयनमा खासखास व्यक्तिको चासोमा भागबन्डा गरिएकाले प्रदेश २ का आठवटै जिल्लामा विवादै विवाद र समस्यैसमस्या रहेको अध्यक्ष साहको रिपोर्टमा उल्लेख छ ।

प्रदेशमा लफडा कतिसम्म छ भन्ने विवाद विषय केन्द्रीय कमिटी बैठकमा समेत उठेको थियो । १५ देखि १९ माघसम्म चलेको केन्द्रीय कमिटी बैठकमा प्रदेश २ का अध्यक्ष साहले रिपोर्टिङ गरिरहँदा वामदेव गौतम ध्यानपूर्वक सुनिरहेका थिए । उनले यसरी ध्यानपूर्वक सुन्नुको रहस्य खुलेको छ, पार्टी विवादको ‘हेडक्वाटर’ बनेको प्रदेश २ मा केन्द्रबाटै हस्तक्षेप गर्ने नेकपाको तयारी छ । र, यसका लागि कमान्डर तोकिएका छन् गौतम नै । उनले विवाद सुल्झाउने सूत्र र योजना बुन्दै त्यसका लागि पहल सुरु गरेका छन् ।

यसअघि संगठन विभाग प्रमुख रहेका गौतम केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गरेसँगै उपाध्यक्ष पनि भएका छन् । यससँगै संगठन विभागले तयार पारेको कार्ययोजना पारित भइसकेको छ । नियमावली बदलेर संगठन विभागको अधिकार बढाइएको छ ।

पार्टी नियमावलीमा संशोधन गरेर संगठन विभागलाई केन्द्रीय कमिटी मातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भए कुनै पनि कमिटीको बैठकमा भाग लिन पाउने र समस्या समाधानको पहल लिने अधिकार दिइएको छ ।

यसबाहेक पार्टी विधान, नियमावली र संगठनात्मक सिद्धान्त बमोजिम कमिटीहरू सञ्चालित भएरनभएको जाँचबुझ गर्ने, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामबारे जानकारी लिन र सम्बन्धित कमिटी एवं पदाधिकारीहरूलाई आवश्यक सुझाब दिन पनि सहभागी हुन पाउने अधिकारसमेत संगठन विभागले पाएको छ ।

नियमावली पारितसँगै केन्द्रीय कमिटी बैठकले प्रदेश २ को विवाद समाधानको जिम्मा संगठन विभागलाई दिने निर्णय गरेको थियो । विभागलाई पार्टी विधान, परिपत्र र पार्टी निर्णयका आधारमा विवाद समाधान गर्न केन्द्रीय कमिटीले जिम्मा दिएको छ । नियमावली र पार्टी केन्द्रको निर्णयका आधारमा संगठन विभागको प्रमुखको हैसियतमा गौतले प्रदेश २ को विवाद सुल्झाउने प्रयत्न सुरु गरेका हुन् । संगठन विभागमा पूर्व माओवादी समूहबाट जनाद्र्धन शर्मा उपप्रमुख छन् । हाल संगठन विभाग १५ सदस्यीय छ ।

संगठन विभाग प्रमुख र पछिल्लोपटक पार्टी उपाध्यक्षको हैसियत पाएपछि वामदेव गौतमले आन्तरिक विवाद सुल्झाउने गृहकार्य थालेका छन् । पार्टी केन्द्रको निर्णय र संशोधित नियमावलीको अधिकार प्रयोग गरेर उनले विवादको केन्द्रमा रहेको प्रदेश २ बाट आफ्नो काम देखाउन चाहेका छन् ।

आन्तरिक विवादकै कारण प्रदेश २ का धनुषा, महोत्तरी, रौतहट, सप्तरी र सिराहामा एकीकरण प्रक्रियाले पूर्णता पाउन सकेको छैन । प्रदेश २ बाट स्थायी र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले विवाद समाधानमा अग्रसरता देखाउनुको सट्टा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा विभाजित छन् । यसले समस्या थप निम्त्याउने देखेपछि गौतमले विभाग प्रमुखको हैसियतमा प्रदेश २ को विवादमा हात हाल्न चाहेका हुन् ।

उपाध्यक्ष बनेको अर्को दिन २० माघमा गौतमले संगठन विभागको बैठक बोलाएर प्रदेश २ का जिल्लामा रहेको विवाद समाधानबारे छलफल गरेका थिए । यसैक्रममा उनले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने पार्टीका स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् । २५ माघमा निवासमै बोलाएर गौतमले सत्यनारायण मण्डल, मातृका यादव, रघुवीर महासेठसँग छलफल गरेका थिए । तर, वरिष्ठ नेता नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गणेश शाह भने अनुपस्थित थिए ।

२५ माघदेखि वरिष्ठ नेता नेपाल ट्युनिसिया भ्रमणमा रहेकाले गौतमको प्रदेश २ झर्ने योजना केही दिन पछाडि सरेको छ । नेपालको गृहजिल्ला रौतहटमा पनि विवाद छ । ५ फागुनमा नेपाल स्वदेश फर्किएलगत्तै विवाद समाधानको मोडालिटी टुंग्याएर प्रदेश २ जाने गौतमको तयारी छ । ‘वरिष्ठ नेता नेपालसँगको परामर्शमा मोडालिटी टुंगो लागेपछि उहाँ ठोस योजनासहित प्रदेश २ को विवाद समाधानमा लाग्ने तयारी छ,’ गौतमका स्वकीय सचिव दीपक टमटाले भने ।

नेकपा रक्षात्मक
विवादले प्रदेश २ मा नेकपालाई रक्षात्मक अवस्थामा र्पुयाएको प्रदेश अध्यक्ष साहको भनाइ थियो । ‘आज कम्युनिस्ट आन्दोलन उत्कर्षमा पुगेर देश कम्युनिस्टमय छ, तर विडम्बना विगतमा कम्युनिस्ट आन्दोलनको आधारभूमि रहेको प्रदेश २ मा पार्टी रक्षात्मक अवस्थामा घिस्रिन बाध्य छ,’ साहले केन्द्रीय कमिटीमा पेस गरेको लिखित रिपोर्टिङमा भनेका छन् ।

अध्यक्ष साहका अनुसार पार्टी संकटमा पर्दा अराजकता मच्याउने र विद्रोहसमेत गर्ने तथा परिस्थिति सहज र पार्टी बलियो हुँदा पार्टीमा फर्किने र नेतृत्वनजिक भई सत्ता स्वादका लागि अस्वाभाविक चाकडी गर्ने स्थानीय नेतृत्वमा देखिएको अवसरवादी प्रवृत्तिले प्रदेश २ मा नेकपा कमजोर भएको छ ।

अध्यक्ष साहले आफ्नो लिखित रिपोर्टमा कतिपय जिल्लामा पदाधिकारी पूर्णता नपाउँदा सम्बन्धित जिल्लाको कामकारबाही पूरै प्रभावित भइरहेको, गलत ढंगले जिल्लामा पदाधिकारी तोक्दा अप्ठ्यारो परेको, एकरूप वैचारिक बुझाइको अभावमा थुप्रै समस्या देखिएको तथा कार्यविभाजन दोहोरोपन देखिएकोजस्ता समस्या रहेको उल्लेख गरेका छन् ।

नेकपामा प्रदेश २ विवादको केन्द्र
प्रदेश २ नेकपाको सबैभन्दा बढी विवाद रहेको प्रदेश बनेको छ । विवादकै कारण नेकपाको प्रदेश तथा जिल्ला कमिटीहरूको बैठक र कार्यक्रम समेत प्रभावित बन्दै आएका छन् । प्रदेशको विवादको असर पछिल्लो केन्द्रीय कमिटी बैठकमा समेत देखिएको थियो । समूहगत छलफलमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सिनियर नेताहरू रघुवीर महासेठ र रामचन्द्र झाबीच भनाभन नै भयो ।

विधानविपरीत स्थायी समिति सदस्य बनाइएका महासेठलाई हटाउनुपर्ने झाको माग थियो । झाले यसका लागि टोली प्रमुख राजेन्द्र राईलाई दबाब नै दिएका थिए । पार्टी नेतृत्वको निर्णयलाई चुनौती दिन खोजेको भन्दै महासेठले प्रतिवाद गरेका थिए । स्थायी कमिटीमा महासेठलाई मापदण्ड विपरीत राखिएको भन्दै केन्द्रीय कमिटीमा श्रीप्रसाद साहले उजुरी नै दिएका छन् ।

प्रदेश २ को विवाद पेचिलो बन्दै गएपछि अध्यक्ष साहले ३ भदौमा पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पदबाट राजीनामा नै दिएका थिए । तर, सचिवालयले राजीनामा अस्वीकार गर्दै फिर्ता लिन निर्देशन दिएपछि साह पूर्ववत हैसियतमै छन् । साहको चित्त बुझेको छैन्, त्यसैले उनले केन्द्रीय कमिटी बैठकमा रिपोर्टिङको क्रममा प्रश्न गरेका थिए, ‘आफ्नो पद छोड्न पनि नपाउने र काम पनि गर्न नदिने स्थितिको अन्त्य कहिलेसम्म हुन्छ ?’

विवाद चर्किँदै जाँदा २४ भदौमा महोत्तरीको बर्दिबासमा आयोजित शपथग्रहण कार्यक्रमा दुई पक्षबीच कुर्सी हानाहान भयो । प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेल यहाँका ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई शपथ गराउने तयारीमा थिए ।

महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिराहा र सप्तरी जिल्ला कमिटीका सदस्यहरूका लागि शपथ कार्यक्रमको तयारी भइरहेकै वेला झडप भएको थियो । असन्तुष्ट समूहले अध्यक्ष साह र सचिव प्याकुरेलमाथि हातपातको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप नै गर्नुपर्‍यो । प्रहरीको लाठीचार्जबाट प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउकोमा चोट लागेको थियो । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like